सरकार,मैले मेरो जिउमा
आफैं आगो झोसें
किनभने तिमीले मेरो हृदयमा
आगो झोसेपछि
म बाँच्नुको सार्थकता रहेन
नश्वर देहको क्षणभंगुरता
नाशवान जीवन
राम्रो थाहा छ मलाई
थाहा पाएरै, बुझेरै मैले
मृत्युको नुतन यात्रा रोजें

थाहा छ,मेरो हृदय जलेपछि
मेरो भविष्य जल्यो
अवसर,जाँगर,योजना
र मेरो मार्गचित्र जल्यो
बाबा आमाको सपना जल्यो
तिमीलाई पो ठूल्ठूला सपना बाँडे पुग्छ
मसँग त मेरै सानो सपना थियो
अनायासै मेरो सपना भत्किएपछि
मेरो चेतनाको मुहान सुक्यो
र अझ थाहा छ
तिम्रो विवेक जल्यो
थाहा छ,तिमीले मेरो
उत्साहको मुहान थुन्यौ
अङ्ग्रेजले नालापानी थुने जस्तो
तिम्रो निष्ठुर जडसत्ताको
अविवेकी व्यवहारले
मेरो पुस्ताको आशा जल्यो
राज्यप्रतिको आस्था जल्यो
थाहा छ,आस्था जल्नु निष्ठा मर्नु हो
अनि शुरूभयो मेरो अप्रत्याशित बिद्रोह
थाहा छ तिमीलाई,बिद्रोहको उत्कर्ष
मैंले मेरो जीवन सकें
थाहा छ,अब तिम्रो पालो !!














