हेडलाईनसमाचारभानुगण्डकीसाहित्य

भोलि २१३औँ भानुजयन्ती : भानु जन्मस्थल चुँदीरम्घामा विभिन्न कार्यक्रमका साथ मनाइँदै

प्रहार समाचार । तनहुँ, २८असार २०८३ आइतबार । नेपाली भाषा–साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती तनहुँको भानु नगरपालिका–४, चुँदीरम्घास्थित भानु जन्मस्थलमा विविध साहित्यिक, सांस्कृतिक तथा धार्मिक कार्यक्रमका साथ मनाइँदै छ। भानु नगरपालिका र आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा हुने मुख्य समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता रहने कार्यक्रम तय गरिएको छ।

आयोजकका अनुसार बिहान प्रभातफेरी, आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण, पूजा–अर्चना, पञ्चकन्याद्वारा रामायण वाचन तथा जयघोष कार्यक्रम सम्पन्न गरिनेछ। त्यसपछि भानु जन्मस्थल परिसरमा श्रद्धाञ्जली सभा, सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन तथा विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ। कार्यक्रममा साहित्यकार, जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

यसअघि जन्मजयन्ती सप्ताहअन्तर्गत भानु नगरपालिकाका सबै वडामा सरसफाइ अभियान, ग्रीन पार्क सरसफाइ, रक्तदान कार्यक्रम, गन्धर्व सेवा समाजको सांस्कृतिक प्रस्तुति, स्थानीय मठ–मन्दिरमा पूजा–अर्चना, घर–घरमा दीपावली, रामायण वाचन प्रतियोगिता, खुला कविता प्रतियोगिता तथा कविगोष्ठीलगायतका कार्यक्रम सम्पन्न भइसकेका छन्। आयोजकले यी गतिविधिले आदिकवि भानुभक्तको साहित्यिक योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउन सहयोग पुगेको जनाएको छ।आदिकवि भानुभक्त आचार्य नेपाली भाषामा रामायण रचना गरी नेपाली साहित्यलाई जनस्तरसम्म पुर्‍याउने पहिलो महान् कविका रूपमा परिचित छन्।

सरल, सरस र भावपूर्ण काव्यशैलीका कारण उनी नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानका अमर व्यक्तित्वका रूपमा सम्मानित छन्। चुँदीरम्घास्थित उनको जन्मस्थल अहिले साहित्य, संस्कृति र पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको छ। आयोजकले २३१औँ भानुजयन्ती समारोहमा सहभागी भई कार्यक्रमलाई भव्य र सफल बनाउन सम्पूर्ण साहित्यप्रेमी, स्थानीयवासी तथा सरोकारवालासमक्ष हार्दिक आग्रह गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button