प्रहार समाचार । तनहुँ, २७ असार २०८३ शनिबार । तनहुँको व्यास नगरपालिका–६ अन्तर्गत साँगे खोलाको बाँधदेखि चउर हुँदै बाह्रबिसे बजार क्षेत्रसम्म आज वृहत् सरसफाइ अभियान सम्पन्न गरिएको छ। स्थानीय बाह्रबिसे युवाको सक्रियतामा सञ्चालन गरिएको अभियानमा विभिन्न क्षेत्रका स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजक क्लबले अभियानमा सहभागी सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सरसफाइलाई एकदिने कार्यक्रम नभई निरन्तर सामाजिक दायित्वका रूपमा लिनुपर्ने सन्देश दिएको छ। क्लबका अध्यक्ष ज्ञानबहादुर गुरुङले क्लब स्थापना भएदेखि नै समाजमा रहेका विकृति हटाउने र आफ्नो गाउँलाई स्वच्छ, सफा तथा व्यवस्थित बनाउने उद्देश्यका साथ निरन्तर सामाजिक अभियान सञ्चालन गर्दै आएको बताए। उनले वातावरण संरक्षण, सार्वजनिक सम्पत्तिको संरक्षण र नागरिकको जिम्मेवारीबोध बिना स्वच्छ समाज निर्माण सम्भव नहुने उल्लेख गर्दै सबैले सरसफाइलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।

क्लबका सचिव यमकुमार श्रेष्ठले सरसफाइ अभियान केवल फोहोर उठाउने काम मात्र नभई सामाजिक चेतना जगाउने अभियान भएको बताए। उनले गाउँ, टोल र बजारलाई सफा राख्न स्थानीयवासी, व्यवसायी तथा युवाको नियमित सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने जानकारी दिए।

स्थानीय तहले मात्र होइन, नागरिक स्वयं जिम्मेवार बनेर अघि बढे वातावरण संरक्षण र स्वच्छ बस्ती निर्माण सम्भव हुने सन्देश यो अभियानले दिएको छ। बढ्दो फोहोर, अव्यवस्थित बजार र घट्दो नागरिक उत्तरदायित्वका बीच साँगे–बाह्रबिसेका युवाले देखाएको सक्रियता अन्य समुदायका लागि पनि अनुकरणीय उदाहरण बनेको छ।














