• विजय अधिकारी (प्रहार संवाददाता) लमजुङ, २५ असार २०८३ बिहीबार । पाँच दिनदेखि परिवारको सम्पर्कविहीन रहेका बेसीशहर नगरपालिका–२ का स्थायी बासिन्दा तथा हाल बेसीशहर नगरपालिका–८ तामाङ टोलमा बसोबास गर्दै आएका ५७ वर्षीय बुद्धिबहादुर बोहरा मृत अवस्थामा फेला परेका छन्। /

मृतक बुद्धिबहादुर बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बेसीशहर नगरपालिका–८ वडा समितिका अध्यक्ष समेत हुन्। आइतबारदेखि बेपत्ता रहेका बोहराको शव आज बिहान बेसीशहर नगरपालिका–१ उदिपुरस्थित पेन्टिङडाँडा माथिको जंगलमा भेटिएको हो। उनका छोरा प्रविन बोहरा र साथीहरूले खोजतलासका क्रममा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार शवको सनाखतपछि मृतक बुद्धिबहादुर बोहरा रहेको पुष्टि भएको छ। शव टाउको र अनुहारमा चोट लागेको अवस्थामा फेला परेकाले घटनाको प्रकृति खुल्न बाँकी रहेको र सबै पक्षबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङ पठाइएको छ। परिवारका अनुसार बोहरा २०८३ असार २१ गते घरबाट कसैलाई कुनै जानकारी नदिई निस्किएका थिए। त्यसयता उनी परिवार, आफन्त वा चिनेजानेका कसैको सम्पर्कमा आएका थिएनन्। सम्भावित स्थानहरूमा व्यापक खोजी गर्दा पनि फेला नपरेपछि परिवारले प्रहरीमा जानकारी गराउनुका साथै सर्वसाधारणसँग खोजीमा सहयोगको अपिल गरेको थियो। पाँच दिनपछि जंगलमा शव फेला परेसँगै परिवार शोकमा डुबेको छ।














