प्रहार समाचार । तनहुँ, ४ असार २०८३ बिहीबार । तनहुँको भानु नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा “शैक्षिक सामग्री निर्माण कार्यशाला तथा प्रदर्शनी कार्यक्रम तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम” भानु नगरपालिका–२ स्थित होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न भएको छ।

नगरभित्रका विद्यालयहरूबीच शैक्षिक गुणस्तर अभिवृद्धि, सिर्जनशील शिक्षण सिकाइको प्रवर्द्धन तथा शिक्षक–कर्मचारीहरूको मनोबल उच्च बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले गुणस्तरीय शिक्षा विकासका लागि सिर्जनात्मक र व्यवहारिक शिक्षण विधिको आवश्यकता रहेको उल्लेख गरे। उनले शैक्षिक सामग्रीको प्रभावकारी प्रयोगबाट विद्यार्थीको सिकाइ उपलब्धि बढ्ने, जिज्ञासा जागृत हुने र कक्षाकोठालाई थप जीवन्त बनाउन सकिनेमा जोड दिए। नगर प्रमुख त्रिपाठीले शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी प्रयोगात्मक, प्रविधिमैत्री र विद्यार्थीकेन्द्रित बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए।

उपप्रमुख उमा गोतामेले विद्यालय, शिक्षक र विद्यार्थीको क्षमता विकास तथा प्रोत्साहनका लागि नगरपालिकाले निरन्तर रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरिन्। उनले शिक्षकको सिर्जनशीलता, विद्यार्थीको प्रतिभा र विद्यालयबीचको सहकार्यले समग्र शैक्षिक वातावरण सुधार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।

साथै शिक्षामा लगानी गर्नु भनेको भविष्य निर्माणमा लगानी गर्नु भएकाले सबै पक्षले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।भानु नगरपालिकाले विगत वर्षहरूझैँ यस वर्ष पनि अन्तरविद्यालय अतिरिक्त शैक्षिक क्रियाकलाप, सिकाइका उपलब्धिहरूको प्रदर्शन, अनुभव आदानप्रदान तथा विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मानसहित प्रोत्साहन गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरेको जनाएको छ।


नगरस्तरीय वृहत शैक्षिक सामग्री प्रदर्शनी महोत्सवमा जनप्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक, अभिभावक, सञ्चारकर्मी र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।





















