• ध्रुव राज घिमिरे ( संवाददाता ) तनहुँ, ४ असार २०८३ बिहीबार । तनहुँको व्यास जन्मभूमि क्षेत्रमा वैदिक पुरोहित समाजद्वारा निर्माण गरिएको समाज भवनको उद्घाटन व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले गरेका छन्। वैदिक परम्परा, संस्कार र धार्मिक मूल्यको संरक्षणमा पुरोहित समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नगर प्रमुख न्यौपानेले समाजलाई संस्थागत रूपमा अझ सशक्त बनाउँदै नयाँ पुस्तालाई वैदिक ज्ञान र संस्कृतिसँग जोड्न आवश्यक रहेको बताए।

उनले पुरोहितहरूको क्षमता अभिवृद्धि, पेशागत सम्मान र धार्मिक सेवाको गुणस्तर सुधारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

वैदिक पुरोहित समाज नेपाल, तनहुँ शाखाका अध्यक्ष तुलसीराम पौडेलको अध्यक्षतामा सम्पन्न आठौं साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा समाजका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा समाजका जिल्ला सचिव भद्र न्यौपानेले भवन निर्माणका लागि व्यास नगरपालिकाबाट प्राप्त सहयोग, वैदिक पुरोहित समाज नेपालका आजीवन सदस्यहरू तथा अन्य दाताहरूबाट संकलित रकमबाट भौतिक संरचना निर्माण, आवश्यक फर्निचर तथा सामग्री खरिदसहित करिब १२ लाख रुपैयाँ खर्च भएको जानकारी दिए।कार्यक्रममा भागवत वाचक गुरु ऋषिराम पौडेललगायत वक्ताहरूले पुरोहित समुदायले भोगिरहेका समस्या, चुनौती र तिनको समाधानका उपायबारे धारणा राखेका थिए।

उनीहरूले बदलिँदो सामाजिक परिवेशमा पुरोहितहरूको भूमिका थप प्रभावकारी बनाउन प्रशिक्षण, संस्थागत सहयोग र समन्वय आवश्यक रहेको बताएका थिए। सो अवसरमा समाजको वार्षिक आय–व्यय विवरण पनि प्रस्तुत गरिएको थियो। सभापतिको आसनबाट बोल्दै अध्यक्ष तुलसीराम पौडेलले समाज भवन निर्माणसँगै संस्थागत गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आधार तयार भएको बताए। उनले पुरोहितहरूको हकहित संरक्षण, पेशागत मर्यादा कायम राख्ने कार्य तथा वैदिक संस्कारको संरक्षण र प्रवर्द्धनमा समाज निरन्तर सक्रिय रहने उल्लेख गर्दै संगठनभित्र एकता, अनुशासन र सहकार्यलाई थप मजबुत बनाउन सबै सदस्यलाई आग्रह गरे। कार्यक्रमको सहजिकरण स जिल्ला सचिव भद्र न्यौपानेले गरेका थिए।





















