प्रहार समाचार । काठमाडौं, २० जेठ २०८३ बुधबार । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नाममा ‘द हिन्दु टाइम्स’मा प्रकाशित लेखले नेपाल र भारत दुवै देशमा सकारात्मक तरंग सिर्जना गरेको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले विकास साझेदारी तथा ‘रोटी–बेटी’ सम्बन्धका विषयमा केन्द्रित बहसले दुवैतर्फ सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गरेका छन्।

भट्टराईले नेपाल–भारत सम्बन्धको बाहिरी रूपमा देखिने विकास र सांस्कृतिक निकटताभन्दा पनि भित्री रूपमा जटिल रहेको सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ताको प्रश्न अझै समाधान हुन नसकेको बताएका छन्। उनका अनुसार भारतीय पक्षमा अंग्रेज शासनकालदेखि विकसित ‘हिमालयन फ्रन्टियर’ सम्बन्धी सोच र नेपाली समाजमा गहिरोसँग रहेको ‘सिक्किमीकरण’ को त्रासले दुई देशबीच अविश्वासको वातावरण कायम राखेको छ। यही कारण नेपाल–भारत सम्बन्ध पटक–पटक उही समस्याको चक्रमा अल्झिने गरेको उनको भनाइ छ।
पूर्वप्रधानमन्त्री भट्टराईले आफू सरकारको नेतृत्वमा रहेका बेला यही मनोवैज्ञानिक तथा राजनीतिक गाँठो फुकाउने उद्देश्यले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को अवधारणा अघि सारेको स्मरण गरेका छन्। उनले पर्याप्त तयारीपछि अघि बढाइएको उक्त संयन्त्रको प्रतिवेदन हालसम्म कार्यान्वयनको प्रतीक्षामा रहेको र त्यसको भविष्य अन्योलमै रहेको टिप्पणी गरेका छन्।यसैबीच भट्टराईले रास्वपा सभापति लामिछानेको हालको भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा देखिएको दुष्चक्र तोड्न योगदान पुर्याउने अपेक्षा व्यक्त गरेका छन्। तर काठमाडौं र नयाँदिल्ली दुवैतर्फबाट सुनिएका विभिन्न राजनीतिक संकेत र गतिविधिप्रति भने उनले असन्तुष्टि जनाउँदै ती घटनाक्रम आफूलाई त्यति प्रिय नलागेको उल्लेख गरेका छन्।



























