हेडलाईनव्याससमाचारगण्डकीमनोरञ्जन

ग्राहकको विश्वास जित्दै सेवा विस्तार गर्नुपर्नेमा पारस खड्काको जोड

प्रहार समाचार । तनहुँ, १६ जेठ २०८३ शनिबार । नेपाल क्रिकेटका पूर्वकप्तान तथा वाइफाइ नेपालका ब्राण्ड एम्बेस्टर पारस खड्काले ग्राहकको विश्वास र सन्तुष्टि नै कुनै पनि संस्थाको सफलताको आधार भएकाले सेवाप्रदायक कम्पनीहरूले ग्राहककेन्द्रित सेवामा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

तनहुँको सदरमुकाम दमौलीमा आयोजित वाइफाइ नेपालको विद्युतीय स्कुटर हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सेवा विस्तारसँगै गुणस्तर, विश्वसनीयता र ग्राहकमैत्री व्यवहारलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे। ग्राहकको आवश्यकता र अपेक्षाअनुसार सेवा तथा सुविधा थप विस्तार गर्न सके संस्थाप्रति आम उपभोक्ताको भरोसा अझ बलियो बन्ने उनको भनाइ थियो।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै इन्टरनेट सेवा नागरिकको दैनिक आवश्यकताको विषय बनेको उल्लेख गर्दै सेवाग्राहीले गुणस्तरीय र भरपर्दो सेवा प्राप्त गर्नुपर्नेमा जोड दिए। निजी क्षेत्रले केवल सेवा बिक्री गर्ने नभई ग्राहकप्रति उत्तरदायी बन्नुपर्ने बताउँदै उनले वाइफाइ नेपालले उपभोक्ताको अपेक्षाअनुसार सेवा प्रवाह गर्नुपर्ने धारणा व्यक्त गरे।

वाइफाइ नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जियारले कम्पनीले ग्राहकको विश्वासलाई केन्द्रमा राखेर सेवा विस्तार तथा प्रविधिको स्तरोन्नतिमा निरन्तर काम गरिरहेको बताए। आगामी दिनमा अझ प्रभावकारी नेटवर्क, द्रुत ग्राहक सहायता सेवा तथा नयाँ योजनामार्फत सेवाग्राहीलाई थप सुविधा उपलब्ध गराइने उनले जानकारी दिए।

त्यस अवसरमा व्यास नगरपालिका–३ का वडा अध्यक्ष अनुप रानाले गुणस्तरीय सेवा प्रवाहमार्फत निजी क्षेत्रले समाज र स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने उल्लेख गर्दै सेवाको प्रभावकारितामा निरन्तर सुधार आवश्यक रहेको बताए।

गत विजयादशमीको अवसरमा खल्ती पेमार्फत भुक्तानी गर्ने वाइफाइ नेपालका ग्राहकहरूमाझ सञ्चालन गरिएको उपहार योजनाअन्तर्गत प्रदान गरिएको विद्युतीय स्कुटर तनहुँको व्यास नगरपालिका–५ निवासी सुनिता रानाले प्राप्त गरेकी हुन्।

देशभरका सहभागीमध्ये भाग्यशाली विजेताका रूपमा छनोट भएकी रानालाई विशेष समारोहका बीच स्कुटर हस्तान्तरण गरिएको थियो। स्कुटर प्राप्त गरेपछि उनले अप्रत्याशित रूपमा यस्तो उपहार पाउँदा आफू अत्यन्त खुसी भएको बताउँदै ग्राहकलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले सेवाप्रति थप आकर्षण बढाउने प्रतिक्रिया दिइन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, वाइफाइ नेपालका अधिकारी तथा सेवाग्राहीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button