प्रहार समाचार । तनहुँ, १६ जेठ२०८३ शनिबार । व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले प्राथमिक उपचारसम्बन्धी ज्ञान हरेक नागरिकका लागि आवश्यक रहेको बताएका छन्। व्यास नगरपालिका–१ स्थित अकला सामुदायिक सिकाइ केन्द्र द्वारा आयोजित दुई दिने प्राथमिक उपचार तालिमको उद्घाटन गर्दै नगर प्रमुख न्यौपानेले उक्त कुरा बताएका हुन् ।

दुर्घटना, विपद् तथा आकस्मिक स्वास्थ्य समस्याका बेला अस्पताल पुग्नुअघि गरिने सही प्राथमिक उपचारले घाइते तथा बिरामीको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले समुदायस्तरमा यस्ता तालिमलाई निरन्तर सञ्चालन गर्नुपर्नेमा नगर प्रमुख न्यौपानेले जोड दिए।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष रमेशचन्द्र हड्खले प्राथमिक उपचारसम्बन्धी सीप र ज्ञानले समुदायलाई थप सुरक्षित र सचेत बनाउन सहयोग पुग्ने बताए। नगर शिक्षा अधिकृत नवीन पराजुली, प्रमुख प्रशिक्षक कृष्णचन्द्र पाण्डेलगायत वक्ताले स्थानीय तहको सक्रियतामा सञ्चालन हुने यस्ता कार्यक्रमले नागरिकमा स्वास्थ्यसम्बन्धी व्यवहारिक ज्ञान विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने धारणा राखेका थिए।

तालिममा टोल विकास संस्थाका अध्यक्ष, आमा समूहका अध्यक्ष तथा बाल क्लबका अध्यक्षहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई घाइतेको प्रारम्भिक अवस्था जाँच गर्ने तरिका, बेहोशी, आन्तरिक तथा बाह्य रक्तश्राव नियन्त्रण, गला लाग्ने समस्या, घाइतेको सुरक्षित ओसारपसार, शरीरका विभिन्न अङ्ग पोलिँदा अपनाउनुपर्ने सावधानी, लेक लाग्दा गरिने उपचार, सर्प तथा अन्य जनावरको टोकाइ तथा हातखुट्टा भाँचिने वा मर्किने अवस्थाको प्राथमिक उपचारबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

व्यास नगरपालिका शिक्षा विकास शाखाको संरक्षकत्वमा सञ्चालित उक्त तालिममा प्रमुख प्रशिक्षक कृष्णचन्द्र पाण्डे र प्रशिक्षक रामदत्त पौडेलले सहजीकरण गरेका थिए। सिकाइ केन्द्रका अध्यक्ष श्रीराम गन्धर्वको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका कानुनी सल्लाहाकार डम्बरदेव हड्खले, परिचारिका कल्पना हड्खले लगायत स्थानीय जनप्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो। आयोजकले तालिमबाट सहभागीहरूमा आकस्मिक अवस्थाको सामना गर्ने क्षमता र आत्मविश्वास अभिवृद्धि भएको जनाएको छ।
























