हेडलाईनव्याससमाचारगण्डकी

युएईमा मृत्युदण्डको संघारमा सुकबहादुर बिक, छोरालाई बचाइदिन आमा तथा स्थानियको आग्रह

रोजगारीको सपना बोकेर युएई पुगेका तनहुँको व्यास नगरपालिका–१३ निवासी सुक बहादुर बिक अहिले मृत्युदण्डको संघारमा पुगेका छन्। कार्यस्थलमा लामो समयदेखि हुँदै आएको मानसिक तनाव, दुर्व्यवहार र आपसी विवादका बीच सिर्जिएको दुर्भाग्यपूर्ण घटनामा एक भारतीय नागरिकको ज्यान गएपछि उनी युएईको जेलमा छन्। त्यहाँको अदालतले उनको रिहाइका लागि २ लाख दिराम ‘ब्लड मनि’ तोकेको परिवारले जनाएको छ। उक्त रकम बुझाउन नसके युएईको कानुनअनुसार मृत्युदण्डको सजाय हुन सक्ने खतरा रहेको बताइएको छ।

सुकबहादुरको अवस्थाबारे जानकारी दिँदैब्यास १३ का वडा अध्यक्ष बसन्त बहादुर आलेले उनको अवस्था नाजुक रहेकोले सबैले सहयोग गर्न आग्रह गरे। । आप्रवासी श्रमिक सञ्जाल व्यास–१३ का सदस्य सन्तोष पन्थले परदेशमा नेपाली श्रमिकहरूले भोग्नुपरेको पीडाको यो एउटा प्रतिनिधि घटना भएको बताए। उनले सुकबहादुरलाई बचाउन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए। त्यसैगरी आप्रवासी श्रमिक सञ्जाल गण्डकी प्रदेशका सदस्य विष्णु थापा गोदारले आर्थिक अभावकै कारण अहिले एउटा नेपालीको जीवन संकटमा परेको उल्लेख गर्दै मानवीय सहयोगका लागि देश तथा विदेशमा रहेका नेपाली समुदायलाई सहयोग गर्न आग्रह गरे।व्यास–१३ निवासी समाजसेवी ईश्वर पन्थ तथा रेशम विकले पनि सुकबहादुरको परिवार अत्यन्तै कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको भन्दै सहयोग बिना उनको उद्धार सम्भव नरहेको बताए।

उनीहरूका अनुसार सुकबहादुर विदेशिनु नै परिवारको गुजारा चलाउनका लागि बाध्यता थियो। अहिले उनको अनुपस्थितिमा परिवार झन् ठूलो संकटमा परेको छ। यता गाउँमा वृद्ध आमा फूलमायाँ बिक छोराको सम्झनामा दिनरात आँसु बगाइरहेकी छन्। “मेरो छोरालाई बचाइदिनुस्, ऊ घर फर्कियोस्,” भन्दै उनले भावुक अपिल गरिन्। उनका अनुसार घरको दुःख हटाउने आशामा विदेशिएको छोरा अहिले जेलमा पुगेपछि परिवार नै विक्षिप्त बनेको छ।

सुकबहादुरका दुई जना नावालक छोरा र एक श्रीमती रहेका छन्। बाबुको अवस्था थाहा पाएपछि बालबालिकासमेत मानसिक पीडामा रहेको परिवारले जनाएको छ। स्थानीय टोल विकास संस्थाका अध्यक्ष विष्णुहरि सेढाईले यो मानवीय संकटको घडी भएकाले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे। उनले “थोरै–थोरै सहयोग जुट्यो भने एउटा नेपालीको ज्यान बचाउन सकिन्छ,” भन्दै सहयोगी मनहरूलाई अभियानमा जोडिन आह्वान गरे।

हाल ‘सुक बहादुर बिक बचाउ अभियान’ मार्फत सहयोग संकलन कार्य जारी रहेको छ भने सामाजिक सञ्जालमार्फत समेत अभियानलाई व्यापक बनाउने प्रयास भइरहेको छ। उनलाई सहयोग गर्न चाहनेले सिद्धार्थ बैड्क दमौली शाखामा रहेको आमा फूलमायाँको नाममा रहेको खाता नम्बर ५५५११८२९९४७ मा अथवा ई सेवामा पनि पैसा पठाउन सकिने जनाइएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button