• ईश्वर बास्तोला । प्रहार समाचार । तनहुँ, १० जेठ २०३ आइतबार । अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक ह्विलचेयर, बैसाखी, सेतो छडी, क्यालिफरलगायतका सहायक सामग्री अझै पनि अधिकारका रूपमा सुनिश्चित हुन नसक्दा धेरै नागरिक दैनिक जीवनमै कठिनाइ भोग्न बाध्य भएका छन् । राज्य र विभिन्न संघसंस्थाबाट वितरण गरिने सामग्रीलाई अझै पनि दया, राहत वा परोपकारको दृष्टिले हेर्ने प्रवृत्ति कायम रहँदा अपाङ्गता भएका व्यक्तिहरू सम्मानपूर्वक बाँच्ने अधिकारबाट वञ्चित भइरहेका छन् । अधिकारकर्मीहरूले सहायक सामग्री कुनै सुविधा नभई आधारभूत मानव अधिकार भएको बताएका छन् ।

विशेषगरी गुणस्तरहीन सहायक सामग्री वितरण हुने समस्या गम्भीर बन्दै गएको सरोकारवालाहरूको भनाइ छ । प्रयोगकर्ताको शारीरिक अवस्था र आवश्यकताअनुसार उपयुक्त सामग्री नदिँदा धेरैले थप शारीरिक पीडा, चोटपटक र मानसिक तनाव झेल्नुपरेको अवस्था रहेको बताइएको छ । कतिपय वितरण कार्यक्रममा टिकाउ नभएका र छिट्टै बिग्रिने सामग्री बाँड्ने गरिएको भन्दै यसमा कडा मापदण्ड लागू गर्न माग गरिएको छ । अन्तर्राष्ट्रिय स्तरअनुसार सुरक्षित र गुणस्तरीय सामग्री मात्रै उत्पादन तथा वितरण गर्नुपर्ने आवाज उठ्न थालेको छ ।आर्थिक अवस्था कमजोर भएकै कारण हजारौँ अपाङ्गता भएका व्यक्तिहरू सहायक सामग्रीको पहुँचबाट टाढा रहेको तथ्य पनि सार्वजनिक भएको छ । दुर्गम क्षेत्रका धेरै नागरिक अझै अरूकै सहारामा जीवन बिताउन बाध्य छन् । अधिकारकर्मीहरूले संविधानले सुनिश्चित गरेको समानता र सम्मानपूर्वक बाँच्न पाउने अधिकार कार्यान्वयन गर्न राज्यले सहायक सामग्री निःशुल्क उपलब्ध गराउनुपर्ने बताएका छन् ।
स्थानीय तहसम्म सहज पहुँच हुने गरी वितरण प्रणाली प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिइएको छ ।यता आधुनिक प्रविधिसँगै सहायक सामग्रीलाई पनि समयअनुकूल बनाउनुपर्ने माग बढ्दै गएको छ । पुराना र प्रयोग गर्न असहज सामग्रीको सट्टा हलुका, सुरक्षित र आधुनिक प्रविधियुक्त सामग्री आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । आगामी बजेट तथा नीति कार्यक्रममा सहायक सामग्रीलाई दया वा अनुदानको विषय नभई मानव अधिकारका रूपमा समेट्नुपर्ने माग गरिएको छ । ईश्वर बास्तोलाले तयार पारेको अवधारणामा आधारित यो विषयले अपाङ्गता भएका व्यक्तिको सम्मान, आत्मनिर्भरता र समावेशी समाज निर्माणको बहसलाई फेरि केन्द्रमा ल्याएको छ । – (बास्तोला अपाङगता क्षेत्रमा सक्रिय छन् )
























