प्रहार समाचार । तनहुँ, २३ असार २०८३ मंगलबार । तनहुँको घिरिङ गाउँपालिकाले कृषि उत्पादनको लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यसहित ५० प्रतिशत अनुदानमा विभिन्न कृषि उपकरण कृषकलाई वितरण गरेको छ। गाउँपालिका परिसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष होमबहादुर थापाले सम्बन्धित कृषकलाई कृषि उपकरण हस्तान्तरण गर्दै आधुनिक कृषि प्रविधिको अधिकतम उपयोगमार्फत व्यावसायिक खेती विस्तार गर्नुपर्ने उल्लेख गरे।

उनले उत्पादन वृद्धि, श्रम तथा लागत न्यूनीकरणका लागि प्राप्त उपकरणको सदुपयोग गर्न कृषकलाई आग्रह गरे। अध्यक्ष थापाले कृषि क्षेत्रलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन यन्त्रीकरण अपरिहार्य रहेको उल्लेख गर्दै गाउँपालिकाले कृषकमैत्री कार्यक्रमलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने बताए। उनले अनुदानमा प्राप्त उपकरणको संरक्षण र प्रभावकारी प्रयोग गरी उत्पादन तथा आम्दानी बढाउन कृषकहरूलाई जोड दिएका हुन्। घिरिङ गाउँपालिकाले कृषि उत्पादनको लागत घटाउन तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित चालु आर्थिक वर्षमा डेढ करोड रुपैयाँ बराबरको कृषि यन्त्रीकरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

नेपाल सरकारबाट हस्तान्तरित विशेष अनुदानअन्तर्गत ७५ लाख रुपैयाँ गाउँपालिकाबाट र ७५ लाख रुपैयाँ सम्बन्धित कृषकको लागत साझेदारीमा गरी कुल डेढ करोड रुपैयाँको लागतमा कृषि उपकरण खरिद गरी वितरण गरिएको गाउँपालिकाले जनाएको छ। ५० प्रतिशत अनुदानमा कृषि उपकरण प्राप्त गरेपछि कृषकहरू उत्साहित भएका छन्। उनीहरूले आधुनिक कृषि उपकरणको प्रयोगले खेती गर्न सहज हुनुका साथै समय, श्रम र उत्पादन लागत घट्ने विश्वास व्यक्त गरेका छन्। गाउँपालिकाले यस कार्यक्रमबाट कृषि उत्पादन वृद्धि, व्यावसायिक खेतीको विस्तार तथा कृषकको आयआर्जनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेको छ।















