प्रहार समाचार । तनहुँ, २३ असार २०८३ मंगलबार । गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिमा लोकसाहित्यका विज्ञ प्रा. डा. कुसुमकुमार (कुसुमाकर) न्यौपानेलाई नियुक्त गरेको छ । त्यसैगरी शंकर विरही गुरुङ उपकुलपति तथा मन कुमार श्रेष्ठ सदस्य–सचिव नियुक्त भएका छन्। नियुक्त पदाधिकारी तथा प्राज्ञ सदस्यहरूको कार्यकाल चार वर्षको रहने व्यवस्था गरिएको छ।

प्रदेश सरकारले प्रतिष्ठानको प्राज्ञ सभामा साहित्य, भाषा, संगीत, संस्कृति, लोकसाहित्य, चित्रकला, मूर्तिकला, चलचित्र, अभिनय तथा लोकदोहोरीलगायत विभिन्न सिर्जनात्मक विधाका २४ जना व्यक्तित्वलाई सदस्यमा मनोनयन गरेको छ। तीमध्ये शंकर विरही गुरुङलाई उपकुलपति र मन कुमार श्रेष्ठलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको हो। सरकारले प्रतिष्ठानलाई पूर्णता दिएसँगै गण्डकी प्रदेशमा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा अनुसन्धानका गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।
मनोनित प्राज्ञ सदस्यहरूमा अनुराग अधिकारी, इन्द्रमान खत्री, ईश्वरीप्रसाद भुषाल, प्रा. डा. ईश्वरचन्द्र वाग्ले, कमलप्रसाद पौडेल ‘अथक’, कृष्णकुमार गुरुङ, गायत्री पराजुली, चोलेन्द्र पौडेल, टुकादेवी पौडेल आचार्य, पवित्रा घिमिरे, बाबुराम बस्ताकोटी, बालकाशी गुरुङ, भूपेन्द्र बानियाँ, रामभक्त जोजीजु, राम्जीप्रसाद पौडेल, बसन्त अधिकारी, डा. विरेन्द्र पुडासैनी, शान्ता बास्तोला, शान्ति भुषाल, सञ्जु महतो थनेत तथा हरीमाया श्रेष्ठ रहेका छन्। उनीहरूलाई आ–आफ्नो विधामा योगदानका आधारमा प्राज्ञ सभामा मनोनयन गरिएको प्रदेश सरकारले जनाएको छ ।














