हेडलाईनसमाचारगण्डकीविजनेसम्याग्दे

उद्यमशीलता तर्फ अगाडि बढ्दै तनहुँको म्याग्दे गाउँपालिकाका महिलाहरू

प्रहार समाचार । तनहुँ, २३ असार २०८३ मंगलबार । तनहुँको म्याग्दे गाउँपालिकाका महिलाहरू अब घरधन्दामा मात्र सीमित छैनन्, उनीहरू उद्यमशीलताको यात्रामा अगाडि बढ्न थालेका छन्। गाउँपालिकाले सञ्चालन गरेको सुगन्धित धुपबत्ती बनाउने सीपमूलक तालिममार्फत महिलाहरूलाई स्वरोजगार र आयआर्जनसँग जोड्ने अभियान सुरु भएको छ।

वडा नं. ५ मा तीन दिनसम्म सञ्चालन गरिएको तालिममा ३३ जना महिलाले सहभागिता जनाउँदै स्थानीय स्रोत–साधनको उपयोग गरी व्यावसायिक रूपमा धुप उत्पादन गर्ने सीप हासिल गरेका छन्।महिलाको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै म्याग्दे गाउँपालिकाको आर्थिक विकास शाखाले सञ्चालन गरेको तालिम स्थानीय आवश्यकता र बजारको मागलाई मध्यनजर गरेर आयोजना गरिएको हो। धार्मिक तथा सांस्कृतिक गतिविधिमा सुगन्धित धुपको प्रयोग बढ्दै गएकाले यसको उत्पादन र बजारीकरणमार्फत महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्य रहेको आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले बताए। उनका अनुसार गाउँपालिकाले तालिम दिएर मात्र नरोकी सहभागीलाई उद्यम स्थापना, समूह गठन, प्राविधिक परामर्श र बजार व्यवस्थापनमा समेत सहजीकरण गर्ने योजना अघि बढाएको छ।तालिममा प्रमुख प्रशिक्षक पवित्रा लामिछानेले कच्चा पदार्थ छनोटदेखि धुप उत्पादन, सुकाउने, गुणस्तर परीक्षण, प्याकेजिङ, लेबलिङ, मूल्य निर्धारण र बजार व्यवस्थापनसम्मका विषयमा व्यवहारिक प्रशिक्षण दिएकी थिइन्।

सहायक प्रशिक्षक राममाया श्रेष्ठले उत्पादन प्रक्रियाका प्रत्येक चरणमा सहभागीलाई अभ्यास गराउँदै व्यवसाय सञ्चालनका लागि आवश्यक सीप प्रदान गरिन्। प्रशिक्षण अवधिभर सहभागी महिलाले आफैं धुपबत्ती उत्पादन गरेर व्यावहारिक अनुभवसमेत हासिल गरेका थिए।तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले महिलालाई सीप र उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने नीति गाउँपालिकाको प्राथमिकतामा रहेको बताए। उनले तालिमलाई प्रमाणपत्रमा सीमित नराखी उत्पादन र व्यवसायमा रूपान्तरण गर्न आग्रह गर्दै उद्यमशील महिलालाई आवश्यक प्राविधिक सहयोग र बजार व्यवस्थापनमा गाउँपालिकाले साथ दिने प्रतिबद्धता जनाए।

उपाध्यक्ष बालकृष्ण घिमिरेले स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउन गुणस्तर र आकर्षक प्याकेजिङ अपरिहार्य रहेको बताए भने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले सामूहिक उद्यममार्फत लागत घटाएर व्यवसायलाई दीर्घकालीन रूपमा सफल बनाउन सकिने धारणा व्यक्त गरे।कार्यक्रमका सभापति तथा वडा नं. ५ का वडा अध्यक्ष शिवबहादुर आलेले वडालाई सुगन्धित धुप उत्पादनको ‘पकेट क्षेत्र’का रूपमा विकास गर्ने लक्ष्य सार्वजनिक गर्दै स्थानीय उत्पादनलाई ब्रान्डका रूपमा स्थापित गरी राष्ट्रिय बजारसम्म पुर्‍याउने योजना रहेको बताए। सहभागी महिला शारदा उपरकेटीले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै सामूहिक रूपमा धुप उत्पादन व्यवसाय सुरु गर्ने तयारी भइरहेको बताइन्। गाउँपालिकाको यो पहलले महिलामा उद्यमशीलताको भावना विकास गर्नुका साथै स्थानीय उत्पादन, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button