हेडलाईनभानुसमाचारगण्डकी

कृषक एकतामा भानु–२ : कृषि सञ्जाल गठनसँगै स्थानीय खेतीपाती प्रवर्द्धनको अभियान

प्रहार समाचार । तनहुँ, ९ जेठ २०८३ शनिबार । तनहुँको भानु नगरपालिका वडा नं. २ मा कृषकहरूको हकहित संरक्षण, कृषि क्षेत्रको दिगो विकास तथा किसानहरूबीच आपसी सहकार्य मजबुत बनाउने उद्देश्यसहित वडास्तरीय कृषि सञ्जाल गठन गरिएको छ । गाउँस्तरमै कृषकलाई संगठित गर्दै उत्पादन, बजारीकरण र कृषि प्रविधिको पहुँच विस्तार गर्ने लक्ष्यका साथ गठन गरिएको सञ्जालले स्थानीय कृषि क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।

नवगठित कृषि सञ्जाल समितिको संयोजकमा हरेराम रेग्मी चयन हुनुभएको छ भने सहसंयोजकमा सिता अधिकारी, सचिवमा भक्तबहादुर कुँवर, सहसचिवमा शिरमाया कुमाल र कोषाध्यक्षमा सबिना दवाड रहनुभएको छ । समितिमा विभिन्न टोल र समुदायका कृषक प्रतिनिधिहरूलाई समेटिएको छ । सदस्यहरूमा धनबहादुर थापा, केदार न्यौपाने, चोभनाथ लामिछाने, जगतप्रसाद देवकोटा, रिना गुरुङ, सुरजबहादुर सार्की, माया मानन्धर, अन्जना कुमाल, पम्फा अधिकारी, रिता अधिकारी, पदमबहादुर सुनार, गणेश ढकाल, गङ्गा बिक र छेनुर्पु तामाङ रहनुभएको छ ।

समितिलाई प्रभावकारी रूपमा अघि बढाउन वडा अध्यक्ष केशवराज त्रिपाठीको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकारमा समाजसेवी दीपकराज उपाध्याय र कृष्णबहादुर घिमिरे रहनुभएको छ । कृषि उत्पादन वृद्धि, किसानका समस्या समाधान, सरकारी कृषि कार्यक्रमको समन्वय तथा आधुनिक खेती प्रणाली विस्तारमा समितिले सक्रिय भूमिका खेल्ने विश्वास गरिएको छ । स्थानीय कृषकहरूका अनुसार अहिलेको अवस्थामा खेतीपातीमा बढ्दो चुनौती, उत्पादन लागत वृद्धि र बजार व्यवस्थापनको समस्याबीच यस्तो सञ्जाल गठन हुनु सकारात्मक कदम हो । किसानहरूलाई एउटै मञ्चमा जोडेर अनुभव आदानप्रदान, सामूहिक योजना निर्माण र कृषि पेशालाई व्यावसायिक बनाउने दिशामा समिति प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button