लुम्बिनीहेडलाईनकोशीसमाचारमदेशकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीसूचना प्रविधि

पश्चिम तराईमा तातो हावाको त्रास, तीन दिन उच्च सतर्कता रहन आग्रह

प्रहार समाचार । काठमाडौँ, ९ जेठ २०८३ शनिबार । पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्ने जोखिम बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आजदेखि सोमबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने चेतावनी दिँदै प्राधिकरणले नागरिकलाई अनावश्यक रूपमा घाममा ननिस्कन अनुरोध गरेको हो ।

पछिल्ला केही दिनयता बढ्दो तापक्रमले जनजीवन प्रभावित हुन थालेपछि स्थानीय तह र सम्बन्धित निकायलाई पनि पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई विशेष सतर्कता आवश्यक पर्ने जिल्लाका रूपमा सूचीकृत गरेको छ भने कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अद्यावधिक अवस्थामा रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ । जल तथा मौसम विज्ञान विभागले जेठ ६ गतेदेखि तराई क्षेत्रमा तापक्रम तीव्र रूपमा बढेको जनाएको छ । मौसमविद्हरूका अनुसार केही दिन अझै तातो हावाको प्रभाव कायम रहने सम्भावना छ ।

चिकित्सकहरूले अत्यधिक गर्मीका कारण थकान, कमजोरी, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने, मांशपेसी दुख्ने तथा बान्ताजस्ता समस्या देखिन सक्ने बताएका छन् । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगी बढी जोखिममा पर्ने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरिएको छ । गर्मीका कारण अस्पतालमा बिरामीको चाप बढ्न सक्ने भन्दै स्वास्थ्य संस्थालाई पनि तयारी अवस्थामा रहन भनिएको छ ।प्राधिकरणले दिउँसोको चर्को घाममा सकेसम्म घरभित्रै बस्न, बाहिर निस्कनै परे छाता वा टाउको ढाक्ने कपडा प्रयोग गर्न सुझाव दिएको छ । धेरै पानी पिउने, हल्का र खुकुलो कपडा लगाउने, चिसो पानीले नुहाउने तथा झोलिलो खानेकुरा र फलफूल सेवन गर्न आग्रह गरिएको छ । खेतबारी वा बाहिरी काम बिहान चाँडै वा साँझपख मात्रै गर्न तथा बालबालिकालाई घाममा खेल्न नदिन पनि अनुरोध गरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button