हेडलाईनव्याससमाचारगण्डकी

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध तनहुँका पत्रकार आन्दोलित

प्रहार समाचार । तनहुँ, ७ जेठ २०८३ बिहीबार । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध नेपाल सरकारको पछिल्लो कदम तत्काल सच्याउन माग गर्दै तनहुँका पत्रकारहरूले हस्ताक्षर संकलनसहित विरोध जनाएका छन्। नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष डिपी अधिकारी को अध्यक्षतामा आयोजित कोणसभामा बोल्दै पत्रकारहरूले सरकारले निजी सञ्चारमाध्यममाथि लगाएको अंकुश कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका हुन्।

कार्यक्रममा वक्ताहरूले मुलुकको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता विपरीत सरकार स्वयं अग्रसर भएको भन्दै आपत्ति जनाए । नेपाल पत्रकार महासंघ तनहुँ शाखाका निवर्तमान अध्यक्ष उज्वल पौडेल तथा पूर्व अध्यक्ष डम्बर अधिकारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएर राज्यले निरंकुश शैली अपनाउन खोजेको अनुभूति भएको बताए । उनीहरूले राजतन्त्रकालमा समेत नभएको दमन अहिलेको सरकारले गरेको आरोप लगाउँदै नेपाल पत्रकार महासंघ ले थप सशक्त आन्दोलनका कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष डिपी अधिकारीले वर्तमान सरकारले निजी सञ्चारमाध्यममाथि गरेको हस्तक्षेपबारे अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकर्षण गराउन आवश्यक रहेको बताए। हस्ताक्षर संकलन कार्यक्रममा पूर्व अध्यक्ष ओमकार आचार्य, पूर्व उपाध्यक्ष शंकरराज नहर्की, प्रेस सेन्टर गण्डकी प्रदेश सचिव सन्त नेपाली तथा प्रेस चौतारी तनहुँका अध्यक्ष विवि श्रेष्ठ लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो।

नेपाल पत्रकार महासंघ तनहुँ शाखाका कोषाध्यक्ष पूर्ण विकेले सहजिका गरेको कोणसभापछि आयोजित हस्ताक्षर संकलन कार्यक्रममा सहभागी पत्रकारहरूले सरकारको कदम तत्काल सच्याउन माग गरेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button