प्रहार समाचार । तनहुँ, ७ जेठ २०८३ बिहीबार । व्यास नगरपालिकाले शिक्षा सुधार, वित्तीय अनुशासन, शिक्षक व्यवस्थापन र विकास योजनाको सुस्त कार्यान्वयनलाई केन्द्रमा राख्दै निर्णयहरु सार्वजनिक गरेको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको कार्यपालिकाको २३७ औँ बैठकले सेवा प्रवाहदेखि बेरुजु असुलीसम्मका विषयमा अघि बढ्ने संकेत दिएको हो।

बैठकले चालु आर्थिक वर्षको प्रगति समीक्षा गर्दै विकास खर्च अपेक्षाकृत कमजोर रहेको निष्कर्ष निकालेको छ। वैशाख मसान्तसम्म नगरपालिकाको कुल आम्दानी ६४.८२ प्रतिशत संकलन हुँदा कुल खर्च भने ५३.९६ प्रतिशत मात्रै पुगेको तथ्यांक बैठकमा प्रस्तुत गरिएको थियो। चालुतर्फ ७१.०३ प्रतिशत खर्च भए पनि पूँजीगततर्फ जम्मा ३२.९६ प्रतिशत मात्रै खर्च हुनुले विकास निर्माणको गति सुस्त रहेको देखिएको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा ७ सय ८८ योजना सञ्चालन गर्ने लक्ष्य राखेकोमा वैशाख मसान्तसम्म ३ सय ६४ योजना मात्रै सम्पन्न भएका छन्। ३ सय ५९ योजना कार्यान्वयनकै चरणमा रहेका छन् भने अझै ६४ योजना सम्झौता हुनै बाँकी रहेको तथ्यले नगरको विकास प्रणालीमाथि प्रश्न उठाएको छ।
बैठकमा योजनाको ढिलासुस्तीबारे गम्भीर समीक्षा गरिएको जनाइएको छ।शिक्षा क्षेत्रलाई लिएर पनि कार्यपालिकाले कठोर निर्णय गरेको छ। २०८२ सालको SEE नतिजा विश्लेषण गर्दा अधिकांश विद्यालयमा विज्ञान र गणित विषय कमजोर देखिएपछि नगरपालिकाले सम्बन्धित शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकलाई बोलाएर विशेष समीक्षा गर्ने निर्णय गरेको छ। जेठ १८ गते अन्तरक्रिया कार्यक्रम आयोजना गरी नतिजा सुधारका लागि ठोस योजना बनाइने भएको छ।विद्यालय व्यवस्थापन र शिक्षक समायोजनको विषयमा पनि बैठक आक्रामक देखिएको छ। नगरपालिकाले निर्णय गरेर सरुवा गरेका शिक्षकलाई कतिपय विद्यालयले हाजिर नगराएको गुनासो आएपछि त्यस्ता विद्यालयमाथि कारबाही गर्ने चेतावनी दिइएको छ। निर्णय कार्यान्वयन नगर्ने विद्यालयको दरबन्दी कट्टा गर्ने र तलब भत्ता निकासा नै रोक्ने निर्णय बैठकले गरेको छ।हालै जारी शिक्षा अध्यादेशअनुसार विद्यालय व्यवस्थापन समितिमा मनोनित दुई सदस्य हटाइएकाले त्यसलाई तत्काल कार्यान्वयन गर्न सबै विद्यालयलाई निर्देशन दिइएको छ। मनोनित सदस्य अध्यक्ष रहेको अवस्थामा नयाँ अध्यक्ष चयन गरी पठाउन पनि नगरपालिकाले निर्देशन दिएको छ।
बैठकले नगरपालिकाको राजश्व सम्भाव्यता अध्ययन, करदाता शिक्षा कार्यक्रम तथा वित्तीय साक्षरता सम्बन्धी अध्ययन प्रतिवेदन सुझावसहित पारित गरेको छ। यसलाई आन्तरिक आम्दानी वृद्धि गर्ने आधारका रूपमा लिइएको छ।त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त खरिद प्रक्रिया र उपभोक्ता समिति सम्बन्धी दुई नमुना कार्यसञ्चालन कार्यविधि (SOP) पनि पारित गरिएको छ। नगरपालिकाले सार्वजनिक खरिद र उपभोक्ता समितिको कामलाई थप व्यवस्थित बनाउन यो कदम चालिएको जनाएको छ।
लेखापरीक्षण प्रतिवेदनमाथि पनि बैठकमा विस्तृत समीक्षा गरिएको थियो। आर्थिक वर्ष ०८१/०८२ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार असुल गर्नुपर्ने बेरुजु तत्काल उठाउन, पेश्की फछ्र्योट गर्न सम्बन्धित पक्षलाई पत्राचार गर्न तथा सैद्धान्तिक बेरुजु न्यूनिकरण गर्न आवश्यक पहल गर्ने निर्णय गरिएको छ। उक्त प्रतिवेदन आगामी नगरसभामा पेश गरिने भएको छ। बैठकले आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेट तयारीलाई पनि प्राथमिकतामा राखेको छ। जेठ ८ गते हुने पूर्वतयारी परामर्श बैठकमा चालु आर्थिक वर्षको प्रगति, अनुमानित आयको खाका तथा सरोकारवालाको सुझाव संकलन गरिने भएको छ। साथै, व्यास नगरपालिका लाई “खोप सुनिश्चित नगरपालिका” घोषणा गर्ने तयारीबारे पनि समीक्षा गरिएको नगर प्रवक्ता सुरेश थापाले जानकारी दिए।
























