प्रहार समाचार । तनहुँ, ६ जेठ २०८३ बुधबार । व्यास नगरपालिकाले ट्राफिक व्यवस्थापन र बजार सुरक्षालाई लिएर संयुक्त बैठक गरी विभिन्न निर्णय सार्वजनिक गरिरहँदा नगरवासी भने फोहर व्यवस्थापनको समस्याले आक्रोशित बनेका छन्। लामो समयदेखि दमौली बजार क्षेत्रबाट नियमित रूपमा फोहर नउठ्दा सडक किनार र चोक–चोकमा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले नगरपालिकाको प्राथमिकतामाथि प्रश्न उठाएका छन्।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा बसेको संयुक्त बैठकले ट्राफिक, पार्किङ, सवारी व्यवस्थापन, सीसीटीभी जडान र ‘वान वे’ प्रणालीबारे विस्तृत निर्णय गरे पनि नगरको सबैभन्दा संवेदनशील समस्या बनेको फोहर व्यवस्थापनबारे कुनै चर्चा नभएको भन्दै आलोचना सुरु भएको हो। विशेषगरी दमौलीको ट्राफिक चोक आसपास थुप्रिएको फोहरका कारण सर्वसाधारण, व्यवसायी र यात्रु दुर्गन्ध सहन बाध्य छन्। व्यास–२ का एक स्थानीय व्यापारीले नगरपालिकाको बैठकप्रति असन्तुष्टि जनाउँदै तत्कालको समस्या समाधानभन्दा ‘बैठक र निर्णयको प्रदर्शन’ बढी भएको टिप्पणी गरे। “नगरको मुख्य समस्या अहिले फोहर हो, तर बैठकमा त्यसबारे एक शब्द पनि उठेन,” उनले भने, “ट्राफिक चोककै छेउमा फोहर थुप्रिएर गन्ध आइरहेको छ, तर बैठकले त्यो गन्ध थाहा पाएन।”स्थानीयका अनुसार बजार क्षेत्रका विभिन्न स्थानमा फोहर संकलन हुन नसक्दा सडक किनारमै थुप्रिन थालेको छ। गर्मी मौसमसँगै दुर्गन्ध बढेको र स्वास्थ्य जोखिमसमेत निम्तिन सक्ने भन्दै नगरवासी चिन्तित छन्।
व्यवसायीहरूका अनुसार फोहरका कारण ग्राहकसमेत बजार आउन असहज मान्न थालेका छन्। नगरपालिकाले भने ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन भन्दै आगामी जेठ १० गतेदेखि लागू हुने गरी १५ दिने परीक्षणकालसहित नयाँ नियम ल्याएको छ। तर स्थानीयले नगरको आधारभूत सरसफाइ र फोहर व्यवस्थापनलाई बेवास्ता गरेर ट्राफिकमा मात्रै केन्द्रित हुनु जनताको वास्तविक समस्याबाट पन्छिन खोजेको आरोप लगाएका छन्।दमौली बजार क्षेत्रका बासिन्दाले तत्काल फोहर उठाउने व्यवस्था मिलाउन, नियमित सरसफाइ अभियान सञ्चालन गर्न र दीर्घकालीन फोहर व्यवस्थापन योजना सार्वजनिक गर्न नगरपालिकासँग माग गरेका छन् ।
























