• शंकरराज नहर्की (प्रहार समाचार) तनहुँ, ६ जेठ २०८३ बुधबार । हातमा कैँची, काँइयो, छुरा र पत्ती (ब्लेड) । यही साधारण पेशालाई जीवनको आधार बनाएर ३८ वर्षदेखि निरन्तर संघर्ष गरिरहेका छन् व्यास नगरपालिका–३ दमौलीस्थित “व्यास हेयर कटिङ” सञ्चालन गर्दै आएका रमजन मियाँ ।बारा जिल्लाको स्वर्ण गाउँपालिका स्थायी घर भएका मियाँले जीवनको सुरुवाती दिन निकै दुःख र अभावमा बिताए ।

गाउँबाट परिवार पाल्ने सपना बोकेर दमौली आएका उनले सानो हेयर कटिङ पसलबाट आफ्नो यात्रा थालेका थिए । उतिबेला उनले कपाल काटेको तीन मोहर अर्थात् एक रुपैयाँ ५० पैसा लिने गर्थे । दाह्री काटेको एक मोहर अर्थात् ५० पैसा मात्रै पर्थ्यो । अहिले सम्झिँदा ती दिन अझै आँखामा झलझली आउने उनी बताउँछन् ।“त्यो बेला दिनभरि पसल कुरेर बस्दा पनि दुई–चार जना ग्राहक आउँथे, त्यही पैसाले घर चलाउनुपर्थ्यो,” उनले विगत सम्झँदै भने, “दुःख धेरै थियो तर कामलाई कहिल्यै सानो मानिनँ ।

मेहनत गरियो भने यही पेशाले पनि मानिसलाई उचाइमा पुर्याउँछ भन्ने विश्वास थियो । समयसँगै महँगी बढ्यो, बजार फेरियो, जीवनशैली बदलियो । त्यससँगै कपाल काट्ने शुल्क पनि बढ्दै गयो । एक रुपैयाँ ५० पैसाबाट सुरु भएको यात्रा २ रुपैयाँ, ५ रुपैयाँ, १० रुपैयाँ, १५ रुपैयाँ, ५० रुपैयाँ, १०० रुपैयाँ हुँदै अहिले १५० रुपैयाँसम्म पुगेको छ । तर मियाँको वास्तविक सफलता रकम बढ्नुमा मात्रै सीमित छैन । उनले यही पेशाबाट कमाएको पसिनाको कमाइले सन्तानलाई उच्च शिक्षा दिलाएका छन् । उनका जेठा छोरा अहिले डाक्टर बनेका छन् । जेठी छोरी नेपाल बैंकमा अधिकृत पदमा कार्यरत छिन् भने अर्का कान्छा छोरा जिल्ला प्रशासन कार्यालयमा प्रशासन अधिकृत बनेका छन् । सामान्य हेयर कटिङ पसलबाट सुरु भएको संघर्षले आज परिवारलाई सम्मानित जीवन दिएको छ ।

त्यसैले मियाँ अहिले गर्वका साथ भन्छन्,“मेहनत गर्ने मानिस कहिल्यै हार्दैन । काम सानो–ठूलो हुँदैन, मन ठूलो हुनुपर्छ ।” हाल उनले आफ्नो पसलको जिम्मेवारी ज्वाइँ उजिर मियाँलाई सुम्पिएका छन् । उजिर मियाँका अनुसार अहिले बजारमा धेरै हेयर कटिङ पसल खुलेका छन् । प्रतिस्पर्धा पनि बढेको छ ।“पहिलाजस्तो अवस्था छैन, अहिले ग्राहक तान्न सेवा र व्यवहार दुवै राम्रो हुनुपर्छ,” उनले भने, “तर बुबाले बनाएको विश्वास नै हाम्रो सबैभन्दा ठूलो पूँजी हो ।”रमजन मियाँको जीवन कथा केवल एउटा नाइको कथा मात्रै होइन ।

यो श्रम, इमानदारी र निरन्तर संघर्षको कथा हो । समाजमा अझै पनि कतिपयले श्रमलाई हेप्ने प्रवृत्ति कायम रहेकै बेला मियाँले भने श्रमकै सम्मानबाट आफ्नो परिवारको भविष्य उज्यालो बनाएका छन् । उनको संघर्षले एउटा स्पष्ट सन्देश दिन्छ —’काम सानो हुँदैन, सपना सानो हुनु हुँदैन । मेहनत बिना सफलता सम्भव छैन ।’
























