हेडलाईनसमाचारगण्डकीविजनेसमनोरञ्जन

रहस्यमयी जोङ गुफा : मुस्ताङ पुगेका पर्यटकको अनिवार्य गन्तव्य

• शंकरराज नहर्की । प्रहार समाचार, ४ जेठ २०८३ सोमबार । हिमालको काखमा रहेको मुस्ताङ अहिले प्राकृतिक सौन्दर्यसँगै ऐतिहासिक सम्पदाका कारण पनि पर्यटकको रोजाइमा पर्न थालेको छ । विशेषगरी लोमान्थाङ गाउँपालिका–१ मा रहेको जोङ गुफाले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ । तस्बिर : प्रहार अनलाईन मिडिया ।

पहाडको भीरमा बनाइएको यो प्राचीन गुफा हेर्न दैनिकजसो पर्यटक पुग्ने गरेका छन् । मुस्ताङ पुगेका अधिकांश पर्यटकले जोङ गुफा नहेरी फर्किन नचाहने स्थानीय बताउँछन् ।समुद्री सतहदेखि करिब तीन हजार १ सय ८५ मिटर उचाइमा रहेको यो गुफालाई स्थानीय बासिन्दाले “सिजा जोङ” भनेर चिन्ने गरेका छन् । भुइँसहित छ तलासम्म फैलिएको गुफाभित्र करिब ५० वटा कोठा रहेको बताइन्छ । ढुंगा र माटोको भीर काटेर बनाइएको संरचनाले अहिले पनि सबैलाई अचम्मित बनाउने गरेको छ । पुरानो समयमा मानिस बसोबास, सुरक्षाका लागि आश्रय तथा भण्डारणका रूपमा प्रयोग गरिएको हुन सक्ने अनुमान गरिन्छ ।जोङ गुफाको बनावट, भित्रको साँघुरो बाटो र अग्लो संरचनाले पर्यटकलाई रोमाञ्चित बनाउने गरेको छ । गुफाभित्र प्रवेश गर्दा प्राचीन सभ्यताको झल्को पाइने भएकाले इतिहास र संस्कृति चासो राख्नेहरूका लागि यो विशेष आकर्षण बनेको छ ।

मुस्ताङको सुख्खा भूगोल, पहाडी दृश्य र पुरातात्त्विक महत्वले गुफाको महत्व अझ बढाएको छ ।स्थानीयवासीका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल र पर्यटन प्रवर्द्धनका कारण जोङ गुफामा पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ । पर्यटक आगमन बढेसँगै स्थानीय व्यवसाय पनि चलायमान बन्न थालेका छन् । मुस्ताङको पहिचान बोकेको यो ऐतिहासिक गुफा अहिले जिल्लाकै महत्वपूर्ण पर्यटकीय सम्पदाका रूपमा परिचित बन्दै गएको छ । – ( स्थलगत रिपोटिङ )


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button