प्रहार समाचार । तनहुँ, ४ जेठ २०८३ सोमबार । तनहुँको भानु नगरपालिका–६ का मनोज कुमार श्रेष्ठ रोजगारीका लागि मलेसिया पुगेको केही दिनमै सम्पर्कविहीन भएपछि परिवार यतिबेला गहिरो चिन्तामा परेको छ। वैदेशिक रोजगारीको सपना बोकेर २०२६ मार्च २८ मा मलेसिया पुगेका श्रेष्ठ अप्रिल १ देखि नै सम्पर्कबाहिर रहेको नेपाली राजदूतावास, क्वालालम्पुरले जनाएको छ।

दूतावासका अनुसार श्रेष्ठ X-SCAN Armguard Security कम्पनीमा कार्यरत थिए। तर, अचानक उनीसँग सम्पर्क हुन छाडेपछि परिवारजनले दूतावासमार्फत खोजीका लागि पहल गरिदिन आग्रह गरेका हुन्। परिवारले फोन, सामाजिक सञ्जाल तथा आफन्तमार्फत सम्पर्क खोज्ने प्रयास गरे पनि हालसम्म उनको कुनै अवस्था खुलेको छैन।
यस घटनाले वैदेशिक रोजगारीमा गएका नेपाली युवाको सुरक्षा र निगरानीप्रति फेरि प्रश्न उठाएको छ। विशेषगरी अपरिचित देशमा पुगेका कामदार सम्पर्कविहीन हुँदा परिवारले भोग्नुपरेको मानसिक पीडा झन् दर्दनाक बन्ने गरेको छ। नेपाली राजदूतावास, क्वालालम्पुरले मनोज श्रेष्ठ सम्बन्धी कुनै जानकारी भए तत्काल दूतावासमा खबर गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ। दूतावासले दिएको जानकारी अनुसार सम्पर्क नम्बर ०१६–२४७२७७७ मा फोन गरेर सूचना दिन सकिनेछ।
























