• विजय अधिकारी ( संवाददाता ) लमजुङ, ६ जेठ २०८३ बुधबार । लमजुङमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा, पर्खाल तथा अन्य संरचनामाथि बेसिशह नगरपालिका कडाइका साथ उत्रिएको छ । नगरपालिकाले मंगलबार सूचना जारी गर्दै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरनलगायत सार्वजनिक प्रयोजनका जग्गा मिचेर निर्माण गरिएका संरचना ३५ दिनभित्र स्वयं हटाउन निर्देशन दिएको हो ।

पछिल्लो समय सार्वजनिक सम्पत्तिमाथि बढ्दो अतिक्रमणका गुनासा बढ्न थालेपछि नगरपालिका सक्रिय रूपमा अघि बढेको देखिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज सिंह बोहरा द्वारा हस्ताक्षीत सूचनामा तोकिएको अवधिभित्र अतिक्रमण हटाउन अटेर गरे नगरपालिकाले डोजर प्रयोग गरेर संरचना हटाउने स्पष्ट चेतावनी दिइएको छ ।

त्यति मात्र होइन, हटाउने क्रममा लाग्ने सम्पूर्ण खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने जनाइएको छ । नगरपालिकाको यो कदमलाई सार्वजनिक सम्पत्ति संरक्षण अभियानका रूपमा हेरिएको छ । नगरपालिकाले स्थानीयवासीलाई समेत सार्वजनिक जग्गा मिचिएको जानकारी वा प्रमाण भए सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा उजुरी दिन आग्रह गरेको छ । सूचना दिने व्यक्तिको नाम, ठेगाना तथा विवरण पूर्ण रूपमा गोप्य राखिने आश्वासन दिँदै नगरपालिकाले नागरिकको सहयोगबिनै अतिक्रमण नियन्त्रण सम्भव नभएको जनाएको छ ।

सार्वजनिक जग्गा खोजी तथा संरक्षणलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन नगरपालिकाले लगत संकलनको कामसमेत अघि बढाएको जनाएको छ । वर्षौंदेखि सार्वजनिक उपयोगका जमिन निजीकरण हुँदै गएको गुनासोबीच नगरपालिकाको पछिल्लो कदमले अतिक्रमणकारीलाई दबाब बढाएको छ भने सार्वजनिक सम्पत्ति जोगाउने बहसलाई फेरि सतहमा ल्याएको छ ।
























