प्रहार समाचार । काठमाडौं, ६ जेठ २०८३ बुधबार । वर्षायाम सुरु भएसँगै नेपालका विभिन्न जिल्लामा चट्याङका घटना बढ्न थालेका छन् । हरेक वर्ष चट्याङका कारण मानिसको ज्यान जाने, घरगोठमा क्षति पुग्ने तथा पशुचौपाया मर्ने घटना दोहोरिने गरेका छन् । विज्ञहरूले चट्याङलाई प्राकृतिक विपत्ति मान्दै सतर्कता अपनाए धेरै क्षति कम गर्न सकिने बताएका छन्।चट्याङ भनेको बादलभित्र वा बादल र जमिनबीच उत्पन्न हुने अत्यधिक शक्तिशाली विद्युतीय डिस्चार्ज हो ।

आकाशमा रहेका पानीका कण, बरफ र हावाबीचको घर्षणका कारण विद्युत् आवेश पैदा हुन्छ । यही आवेश असन्तुलित भएपछि एक्कासि ठूलो चमक र आवाजसहित विद्युत् प्रवाह हुने प्रक्रियालाई चट्याङ भनिन्छ।चट्याङ पर्दा देखिने उज्यालोलाई बिजुली चम्किएको भनिन्छ भने त्यसपछि सुनिने ठूलो आवाजलाई गर्जन भनिन्छ । वैज्ञानिकहरूका अनुसार चट्याङको तापक्रम सूर्यको सतहभन्दा पनि बढी, करिब ३० हजार डिग्री सेल्सियससम्म पुग्न सक्छ।चट्याङको बेग अत्यन्त तीव्र हुने गर्छ । बिजुलीको चमक प्रकाशको गतिमा देखिन्छ भने विद्युतीय प्रवाह करिब एक लाख किलोमिटरसम्म प्रतिघण्टाको गतिमा फैलिन सक्ने बताइन्छ । यही कारण चट्याङ क्षणभरमै विनाशकारी बन्न सक्छ।नेपालमा विशेषगरी प्रि–मनसुन र मनसुनको समयमा चट्याङका घटना बढी हुने गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो चार वर्षमा मात्रै चट्याङका एक हजार एक सय १८ वटा घटना भएका छन् । ती घटनामा दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । यस अवधिमा एक हजार ६ सय सात परिवार प्रभावित बनेका छन्।
यसअघि प्राधिकरणले सार्वजनिक गरेको अर्को तथ्यांकअनुसार नेपालमा वार्षिक सरदर करिब एक सय जनासम्मको ज्यान चट्याङका कारण जाने गरेको देखिएको छ । पछिल्लो नौ वर्षमा मात्रै चट्याङबाट नौ सय २९ जनाको मृत्यु भएको विवरण पनि सार्वजनिक भएको थियो।
प्राधिकरणका अनुसार कोशी प्रदेशमा चट्याङका घटना बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा बढी देखिएको छ । झापा, उदयपुर र मकवानपुर जिल्ला उच्च जोखिममा रहेको बताइएको छ।
पहाडी तथा तराई क्षेत्रमा खुला मैदान, अग्ला रुख, टावर तथा खेतबारीमा काम गर्ने मानिस बढी जोखिममा पर्ने गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रत्येक वर्ष चट्याङका कारण दर्जनौँ मानिसको ज्यान जाने र ठूलो धनमालको क्षति हुने गरेको छ।विज्ञहरूले चट्याङबाट जोगिन केही सावधानी अनिवार्य अपनाउनुपर्ने बताएका छन् । चट्याङसहित पानी परिरहेका बेला खुला ठाउँमा नबस्ने, अग्ला रुखमुनि ओत नलाग्ने, मोबाइल चार्जमा राखेर प्रयोग नगर्ने तथा विद्युतीय उपकरणबाट टाढा रहने सुझाव दिइएको छ।त्यस्तै, खेतबारीमा काम गरिरहेका किसानले मौसम खराब भएपछि सुरक्षित भवनभित्र जानुपर्ने, घरमा ‘अर्थिङ’ र चट्याङ प्रतिरोधी उपकरण जडान गर्नुपर्ने तथा मौसम पूर्वानुमानको जानकारी नियमित लिनुपर्नेमा पनि जोड दिइएको छ।विशेषज्ञहरूका अनुसार सचेतना र पूर्वसतर्कताले चट्याङबाट हुने ठूलो मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिन्छ ।
























