प्रहार समाचार । चितवन, ६ जेठ २०८३ बुधबार । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङ यतिबेला शोकले स्तब्ध बनेको छ । जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा एउटै परिवारका तीन बालबालिकाको ज्यान गएपछि चेपाङ बस्ती नै पीडामा डुबेको हो । पाँच दिनको अन्तरालमा आफ्ना तीनै सन्तान गुमाएका श्यामबहादुर चेपाङ र पदमकुमारी चेपाङको घर अहिले सुनसान बनेको छ ।

गाउँभरि रुवाबासी छ भने स्थानीयले यस्तो पीडादायी घटना कहिल्यै नदेखेको बताइरहेका छन् । भरतपुर अस्पतालमा उपचाररत १३ वर्षीया मनिता चेपाङको मंगलबार बिहान मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो । यसअघि नौ वर्षीया नमुना चेपाङको गाउँमै मृत्यु भएको थियो भने ११ वर्षीय सञ्जय चेपाङले अस्पतालमै उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । एउटै घरका दाजुभाइ–दिदीबहिनी क्रमशः गुम्दै जाँदा परिवारमाथि असह्य बज्रपात परेको स्थानीयहरू बताउँछन् ।
गरिबी र अभावसँग संघर्ष गर्दै आएको चेपाङ परिवार जंगलमा पाइने गेडागुडी, तरुल र च्याउजस्ता खानेकुरामै निर्भर रहने गरेको स्थानीयको भनाइ छ । गाउँका धेरै परिवारले वर्षौंदेखि जंगलको च्याउ खाने गरे पनि यसपटक विषालु च्याउले तीन निर्दोष बालबालिकाको ज्यान लिएको हो । विकट बस्ती, स्वास्थ्य सेवामा ढिलो पहुँच र चेतनाको अभावले पनि घटना झन् भयावह बनेको स्थानीयको गुनासो छ । मृतक तीनै बालबालिका स्थानीय विद्यालयमा अध्ययनरत थिए । उनीहरूको असामयिक मृत्युले विद्यालय पनि शोकमा डुबेको छ । सहपाठी र शिक्षकहरू स्तब्ध छन् । गाउँमा अहिले एउटै प्रश्न उठिरहेको छ—गरिबी र अभावकै कारण अझै कति निर्दोषले ज्यान गुमाउनुपर्ने हो ?
























