प्रहार समाचार । काठमाडौं, ३ बैशाख २०८३ बिहीबार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। जसकाकारण उपभोक्ताहरु ठूलो मारमा परेका छन । निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ मूल्यसूची सार्वजनिक गरेको हो। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको र इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो। नयाँ मूल्यसूचीअनुसार डिजेल तथा मट्टीतेलको मूल्य वृद्धि गरिएको छ भने पेट्रोलको मूल्य यथावत राखिएको छ।

अब डिजेल/मट्टीतेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २३६ रुपैयाँ र तेस्रो वर्गमा २३७ रुपैयाँ कायम गरिएको छ। यसअघि क्रमशः २०४ रुपैयाँ ५० पैसा, २०६ रुपैयाँ र २०७ रुपैयाँ रहेको थियो।त्यस्तै, आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि बढाइएको छ। हवाई इन्धन अब प्रतिलिटर २५६ रुपैयाँ कायम गरिएको छ, जुन पहिले २५१ रुपैयाँ थियो। निगमका अनुसार नयाँ मूल्य २ गते राति १२ बजेदेखि लागू हुनेछ। मूल्य समायोजनपछि पनि निगमलाई डिजेलमा प्रतिलिटर करिब ११ रुपैयाँ १६ पैसा घाटा भइरहेको जनाएको छ। पछिल्लो १५ दिनमा मात्रै निगमले करिब ७ अर्ब ५७ करोड रुपैयाँ घाटा व्यहोरेको पनि विज्ञप्तिमा उल्लेख छ।निगमले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण यस्तो समायोजन गर्नु परेको स्पष्ट पार्दै उपभोक्ता तथा सरोकारवालालाई सहयोग र समझदारीका लागि आग्रह गरेको छ।
























