प्रहार समाचार । काठमाडौं, ३ बैशाख २०८३ बिहीबार । पश्चिमी तथा स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका पहाडी र हिमाली भूभागमा मौसम आंशिक रूपमा बदली हुँदै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले हिमाली क्षेत्रमा सामान्य बदली र पहाडमा आंशिक बदली देखिएको छ भने तराईका अधिकांश भागमा मौसम सफा रहेको छ ।

बिहीबार दिउँसो कोसी प्रदेशको पहाडी भूभागसहित वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा बदली बढ्ने अनुमान गरिएको छ । यस क्रममा कोसीका केही स्थान र वाग्मती–गण्डकीका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ । अन्य क्षेत्र भने आंशिक बदलीसहित सामान्य मौसममै रहनेछन् ।
रातिको समयमा पनि कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहनेछ । ती क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहँदा बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम प्रायः सफा रहने विभागको पूर्वानुमान छ ।



























