हेडलाईनविचारप्रदेश

सम्पादकीय : नयाँ वर्ष २०८३ : आक्रोशबाट आशातर्फ

आजबाट नयाँ वर्ष २०८३ प्रारम्भ भएको छ। समय फेरिएको छ, तर परिस्थितिले अझै पूर्ण रूपले नयाँ मोड लिएको छैन। २०८२ साल नेपाली जनमानसका लागि सहज रहेन। महँगी, बेरोजगारी, कमजोर सेवा प्रवाह र व्यापक भ्रष्टाचारले जनजीवन कष्टकर बनायो। राज्यप्रति विश्वास कमजोर बन्दै गयो, असन्तुष्टि चुलियो र निराशाले गहिरो जरा गाड्यो।

२०८२ भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलन यही असन्तुष्टिको विस्फोट थियो । युवाहरू सडकमा उत्रिए, आवाज उठाए, बलिदान दिए। आन्दोलनको क्रममा सिंहदरबार, सर्वोच्च अदालत, नेताहरूका निवासदेखि व्यापारिक प्रतिष्ठानसम्म आगलागी भयो। यी घटनाहरू केवल भौतिक क्षति थिएनन्, बरु राज्यप्रतिको भरोसा टुट्दै गएको गम्भीर संकेत थिए। जब जनविश्वास खस्किन्छ, त्यस्तो विस्फोट अपरिहार्य बन्छ भन्ने यथार्थ यसले देखायो ।


त्यसपछि सम्पन्न निर्वाचनले जनताको स्पष्ट सन्देश दियो। परम्परागत दलहरू खुम्चिए, जनमत गुमाए। नयाँ राजनीतिक शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदायो र झन्डै बहुमतसहित सरकार गठन गर्न सफल भयो। यो परिणाम संयोग होइन, बरु जनअसन्तोषको प्रत्यक्ष राजनीतिक अभिव्यक्ति हो। जनताले अब पुरानो शैलीको राजनीति अस्वीकार गरेको सन्देश दिएका छन्। पुराना दलका दिग्गज नेताहरुले चुनावमा नराम्ररी पराजय भोग्नु पर्यो । लज्जास्पत पराजय बेहोर्नु पर्यो । जस्ले पुराना दलहरू सच्चिने कि सक्किने भन्ने बहस सृजना गऱ्यो । आन्दोलन पछि सत्ता त परिवर्तन भयो तर सत्ता परिवर्तन मात्र पर्याप्त हुँदैन। अहिलेको सरकारमाथि जनताको अपेक्षा अत्यन्त उच्च छ। देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन सुशासन अपरिहार्य छ। भ्रष्टाचारमा संलग्नलाई कानुनी दायरामा ल्याउनु, अवैध रूपमा आर्जित सम्पत्ति राज्यकोषमा फिर्ता गर्नु र दण्डहीनताको अन्त्य गर्नु—यी कदमहरूले मात्र जनविश्वास पुनःस्थापित गर्न सक्छन्। भाषण होइन, परिणाम दिने समय आएको छ।


नयाँ वर्ष २०८३ केवल क्यालेन्डर परिवर्तन होइन, यो नयाँ संकल्पको अवसर हो। आक्रोशलाई आशामा रूपान्तरण गर्दै काम गरेर देखाउने घडी हो। यो वर्ष शान्ति, सुशासन, समृद्धि र नवआशाको वर्ष बनोस् , शुभकामना। १ बैशाख २०८३(नयाँ वर्ष)


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button