प्रहार समाचार । काठमाडौ, ३० चैत २०८२ सोमबार । देशमा अहिले पश्चिमी प्रणाली र स्थानीय वायुको हल्का प्रभाव देखिँदा पहाडी तथा हिमाली भेगमा बादलको आवरण बढेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाड र हिमालमा साधारणदेखि आंशिक बदली रहेको अवस्था छ। आज दिउँसोतिर पनि यस्तै मौसमी अवस्था कायम रहने अनुमान गरिएको छ। विशेषगरी कोसी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रसँगै वाग्मती र गण्डकीका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। तराई क्षेत्रमा भने मौसम प्रायः सफा रहनेछ।राति भने मौसम अझ खुल्ने देखिएको छ। पहाडी र तराई भूभागमा आकाश सफा रहनेछ भने हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। यद्यपि, कोसी र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना कायमै रहेको विभागले जनाएको छ ।



























