प्रहार समाचार । काठमाडौँ, चैत्र २९ गते आइतबार । गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। सार्वजनिक विवरणअनुसार गुरुङसँग उल्लेख्य मात्रामा चल तथा अचल सम्पत्ति रहेको देखिएको छ।विवरण अनुसार, उनको नाममा कुल ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको शेयर रहेको छ। तीमध्ये २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको शेयर धितोपत्र बजारमा कारोबार हुने कम्पनीहरूमा लगानी गरिएको छ।

अचल सम्पत्तितर्फ, गुरुङको व्यक्तिगत नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ। साथै, उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा जग्गा र बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्री क्षेत्रमा २२१ रोपनी जग्गा रहेको विवरणमा उल्लेख छ।

त्यस्तै बैंक मौज्दाततर्फ लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार रुपैयाँ र नबिल बैंकमा ५६ लाख २५ हजार रुपैयाँ रहेको छ।गरगहनातर्फ, ८९ तोला सुन र ६ किलो चाँदी रहेको छ, जसलाई पैतृक सम्पत्तिका रूपमा उल्लेख गरिएको छ।सार्वजनिक गरिएको यो विवरणले गृहमन्त्री गुरुङको सम्पत्ति संरचना र लगानीको अवस्थालाई स्पष्ट रूपमा देखाएको छ।



























