• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुड, २९ चैत २०८२ आईतबार । जिल्लाको मर्श्याङ्दी गाउँपालिका–९, खुदीस्थित साम्बाचोकमा सवारी दुर्घटना न्यूनीकरणलाई केन्द्रमा राख्दै सचेतनामूलक कार्यक्रमसँगै ब्रेथलाइजर मेसिन हस्तान्तरण गरिएको छ। “सुरक्षित यात्रा, सभ्य समाजको आधार” भन्ने मूल नारासहित गाउँपालिकाको आयोजना तथा खुदी युथ र खुदी प्रहरी चौकीको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पछिल्लो समय बढ्दो सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न स्थानीय तहले सक्रिय पहल थालेको बताए। उनले जिल्ला ट्राफिक कार्यालय लमजुङका प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्रीमार्फत ब्रेथलाइजर मेसिन हस्तान्तरण गर्दै मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिमा नियन्त्रण ल्याउन यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। गाउँपालिकाले अब सचेतना मात्रै होइन, प्रविधिमार्फत निगरानीलाई पनि सँगै अघि बढाउने संकेत दिएको छ।

पालिकाकी उपाध्यक्ष जुना माया थापा, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक नेत्र बहादुर थापा, वडा अध्यक्ष, जनप्रतिनिधि, युवा क्लबका प्रतिनिधि लगायतको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूलाई मापदण्ड विपरीत सवारी सञ्चालन नगर्न, सिट क्षमता भन्दा बढी यात्रु नराख्न र ट्राफिक नियमको पूर्ण पालना गर्न कडा आग्रह गरिएको थियो। स्थानीय तह, प्रहरी र समुदायबीचको सहकार्यले मात्रै सुरक्षित सडक संस्कार निर्माण सम्भव हुने सन्देश कार्यक्रमले दिएको छ।





























