प्रहार समाचार । काठमाडौँ २९ गते चैत्र आइतबार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरे सम्पत्ति विवरण काठमाडौं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार उनको नाममा विभिन्न स्थानमा घर, अपार्टमेन्ट, जग्गा, बैंक मौज्दात तथा लगानी रहेको देखिएको छ।

विवरण अनुसार अर्थमन्त्री वाग्लेसँग कुल ३ करोड ५५ लाख रुपैयाँ ऋण रहेको छ। आवासीय सम्पत्तितर्फ ललितपुरको सानेपामा करिब २ करोड रुपैयाँ मूल्यको अपार्टमेन्ट तथा ललितपुरमै करिब ५ करोड रुपैयाँ बराबरको अर्को अपार्टमेन्ट रहेको उल्लेख गरिएको छ। त्यस्तै, काभ्रेमा करिब ३ करोड ७५ लाख रुपैयाँ मूल्यको अपार्टमेन्ट र तनहुँमा करिब २ करोड रुपैयाँको घर रहेको जनाइएको छ । बैंक मौज्दाततर्फ उनको खातामा १ करोड ९० लाख रुपैयाँ रहेको छ भने पाँच वटा कम्पनीमा ४ करोड रुपैयाँभन्दा बढीको शेयर लगानी रहेको विवरणमा उल्लेख छ।

सुनतर्फ ४५ तोला रहेको र सवारी साधनतर्फ ९४ लाख रुपैयाँमा खरिद गरिएको ‘सुबारु एक्सभी’ गाडी रहेको उल्लेख गरिएको छ।जग्गा सम्पत्तितर्फ काठमाडौंको चन्द्रागिरिमा ३ रोपनी, चितवनको रत्ननगरमा ५ कठ्ठा र तनहुँको भानु नगरपालिकामा ६ रोपनी जग्गा रहेको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ। अर्थमन्त्रीले कानुनी व्यवस्था अनुसार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।



























