काठमाडौं । कमजोर पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभावका कारण देशभर मौसम मिश्रित देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। विशेषगरी कोसी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा बदली बढ्दो क्रममा रहेको विभागले जनाएको छ।

आज दिउँसो कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागसहित अन्य हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा तथा गण्डकीका केही पहाडी स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। त्यस्तै लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
राति पनि हिमाली क्षेत्रमा बदली कायमै रहनेछ भने पहाडमा आंशिक बदली र तराईमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। कोसी र गण्डकीका हिमाली क्षेत्रमा केही स्थानमा तथा अन्य हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागको पूर्वानुमान रहेको छ ।



























