प्रहार समाचार । तनहुँ , २९ चैत २०८२ आईतबार । जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित पृथ्वी राजमार्गमा हिंजो भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ। विपरीत दिशाबाट आएको पिकअप भेनले स्कुटरलाई ठक्कर दिँदा दुवै जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पोखराबाट बेलचौतारातर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको पिकअप भेनले डिभाइडर नै क्रस गरेर विपरीत दिशामा गुडिरहेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटर चालक मुक्तिनाथ, शुक्लागण्डकी च्यावनधामका पुजारी गणेश खतीवडा र पछाडि सवार गाछेपानीका कृष्ण भुजेल गम्भीर घाइते भएका थिए।

घाइते दुवैलाई तत्काल उद्धार गरी अस्पताल लगिएको भए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। एक जनाको तनहुँ सेवा अस्पताल दुलेगौंडामा र अर्का एकको गण्डकी मेडिकल कलेज पोखरामा उपचार हुँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पिकअप चालकले सवारी नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए।



























