हेडलाईनसमाचार

अमेरिका–इरानबीच प्रत्यक्ष भेटवार्ता सुरु, कूटनीतिमा नयाँ मोड

प्रहार समाचार । काठमाडौँ । चैत्र २८ गते शनिबार । इस्लामाबादमा जारी शान्ति प्रयासबीच अमेरिका र इरानबीच प्रत्यक्ष भेटवार्ता सुरु भएको पुष्टि भएको छ। अमेरिकी प्रशासन (व्हाइट हाउस) का अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्ससहित उच्चस्तरीय टोलीले इरानी प्रतिनिधि मण्डलसँग प्रत्यक्ष संवाद गरेका हुन्। सन् १९७९ को इस्लामिक क्रान्तिपछि अमेरिका र इरानबीच यस तहको प्रत्यक्ष संवाद दुर्लभ मानिन्छ।

यसअघि पाकिस्तानको मध्यस्थतामा अप्रत्यक्ष रूपमा अघि बढेको वार्ता अब प्रत्यक्ष संवादमा प्रवेश गर्नुले कूटनीतिक रूपमा महत्वपूर्ण प्रगति भएको संकेत गरेको छ। यो भेटवार्तालाई दशकौँदेखि जारी अविश्वास घटाउने प्रयासका रूपमा हेरिएको छ। साथै, क्षेत्रीय तनाव कम गर्दै सम्भावित युद्ध अन्त्यतर्फ अग्रसर हुने संकेतसमेत मानिएको छ। यस प्रक्रियामा पाकिस्तानको मध्यस्थताले उसको कूटनीतिक भूमिका थप मजबुत भएको विश्लेषण गरिएको छ। यद्यपि, वार्ता सफलतापूर्वक निष्कर्षमा पुग्न अझै चुनौतीहरू बाँकी छन्।

युद्धविरामका सर्तहरूमा सहमति, इरानको आणविक कार्यक्रमसम्बन्धी विवाद, र लेबननसहित क्षेत्रीय द्वन्द्वका विषयहरू प्रमुख रूपमा उठ्ने अपेक्षा गरिएको छ। अब अन्तर्राष्ट्रिय समुदायको ध्यान यसै वार्तामा केन्द्रित भएको छ। विश्लेषकहरूका अनुसार, यदि संवाद सकारात्मक दिशामा अघि बढेमा यसले दीर्घकालीन शान्तिका लागि आधार तयार गर्न सक्छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button