प्रहार समाचार । काठमाडौं, चैत्र २८ गते शनिबार । कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो कार्यकालमा भएका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पारे।

उनले विगतमा गरिएका निर्णयहरूबारे बारम्बार आफूले स्वीकृति जनाइसकेको उल्लेख गर्दै आवश्यक परे सम्पूर्ण छानबिनको सामना गर्न तयार रहेको बताए। “मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरै चोटी भनिसकेँ। सम्पूर्ण छानबिनका लागि म तयार छु,” प्रचण्डले भने, “सत्य तथ्य बाहिर ल्याउन जुनसुकै प्रक्रिया अघि बढे पनि म त्यसको सामना गर्न तयार छु।” उनले आफ्नो नेतृत्वमा भएका निर्णयहरू पारदर्शी र जनहितमा केन्द्रित रहेको दाबी गर्दै त्यसका कारण आफूलाई कुनै डर वा हिचकिचाहट नभएको जिकिर गरे।

साथै, उनले सत्य बाहिर आउनेमा आफू विश्वस्त रहेको पनि बताए।यसैबीच, वर्तमान सरकारको कार्यशैलीबारे टिप्पणी गर्न भने अहिले नै उपयुक्त समय नभएको उनको भनाइ थियो। उनले सरकारले गरेका कामको मूल्यांकन गर्न अझै केही समय आवश्यक पर्ने उल्लेख गर्दै परिस्थितिलाई नजिकबाट नियालिरहेको बताए।
























