प्रहार समाचार । तनहुँ, १५ भदौ २०७३ सोमबार । व्यास नगरपालिकाले नगर क्षेत्रभित्रको जग्गा वर्गीकरण तथा कित्तागत विवरणमा छुटेका विवरण समावेश गर्न तथा विद्यमान विवरणमा संशोधन गर्न जग्गाधनीलाई आग्रह गरेको छ। नगरपालिकाले २०८३ भदौ १५ गते सार्वजनिक सूचना जारी गर्दै आफ्नो जग्गाको कित्तागत विवरण जाँच गरी विवरण सच्याउनुपर्ने वा नयाँ कित्तागत विवरण थप गर्नुपर्ने भए आवश्यक प्रमाण तथा कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको हो।

नगरपालिकाका अनुसार व्यास नगर कार्यपालिकाको २०८३ भदौ ८ गते बसेको २४५औँ नियमित बैठकको निर्णय नं. ९ बमोजिम यस्तो प्रक्रिया अघि बढाइएको हो। भू–उपयोग ऐन, २०७६ तथा भू–उपयोग नियमावली, २०७९ बमोजिम स्थानीय भू–उपयोग परिषद्बाट २०८२ जेठ ७ गते पारित भई नगरपालिकाले २०८२ जेठ ११ गते प्रकाशित गरेको ‘व्यास नगरपालिकाको जग्गा वर्गीकरण तथा कित्तागत विवरण, २०८२’ नगरपालिकाको आधिकारिक वेबसाइटमा राखिएको छ।
जग्गाधनीहरूले नगरपालिकाको वेबसाइटमा आफ्नो कित्तागत विवरण हेरी आफ्नो जग्गाको विवरण समावेश भए–नभएको यकिन गर्न सक्नेछन्।नगरपालिकाले विवरण संशोधन वा नयाँ कित्तागत विवरण थप गर्नुपर्ने भए जग्गाधनीले आफ्नो विवरणसहित आवश्यक प्रमाण तथा कागजात संलग्न गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुपर्ने जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालद्वारा जारी सूचनामार्फत नगर क्षेत्रका सम्बन्धित सबै जग्गाधनीलाई तोकिएको समयभित्र प्रक्रिया पूरा गर्न आग्रह गरिएको हो।
















