प्रहार समाचार । तनहुँ, १५ भदौ २०८३ सोमबार । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक पूर्णरूपमा अवरुद्ध भएपछि काठमाडौं जाने सवारीसाधनका लागि विभिन्न वैकल्पिक मार्ग प्रयोग गर्न सकिने भएको छ। त्रिशूली नदीको कटान तथा पहिरोका कारण कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध भएको हो।दुई तथा चारपाङ्ग्रे सवारीसाधनले फिस्लिङबाट आग्रीडाँडा–तोमनडाँडा–बनटार–दलभञ्ज्याङ–सानो दरबुङ–दरबुङफाँट–सिउरेनीटार हुँदै बेनिघाट निस्केर काठमाडौं जान सक्नेछन्। यस वैकल्पिक मार्गको दूरी करिब ३२ किलोमिटर रहेको जनाइएको छ।

त्यस्तै, मोटरसाइकलका लागि मझिमटार अगाडि हुँदै ज्यामिरेघाटको झोलुङ्गे पुल पार गरेर सिउरेनीटार–बेनिघाट हुँदै काठमाडौं जाने मार्ग प्रयोग गर्न सकिनेछ। मोटरसाइकल चालकले स्थानीय सडकको अवस्था तथा मौसमलाई ध्यानमा राखी सावधानीपूर्वक यात्रा गर्नुपर्नेछ।कास्की, लमजुङ र तनहुँतर्फबाट काठमाडौं जाने सवारीसाधनले गोरखा सदरमुकामबाट बुंकोट–नाम्जुङ–घैरुङ–दरबुङ–सिउरेनीटार हुँदै बेनिघाट निस्केर काठमाडौं जान सक्नेछन्। कृष्णभीर सडक तत्काल सञ्चालनमा आउन समय लाग्न सक्ने भएकाले अत्यावश्यक यात्रामा वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।

















