प्रहार समाचार । धादिङ , १५ भदौ २०८३ सोमबार । त्रिशूली नदीमा आएको बाढीसँगै खसेको ठूलो पहिरोले नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीर क्षेत्रमा सडकमा गम्भीर क्षति पुर्याएपछि तत्काल यातायात सञ्चालनमा ल्याउन कठिन देखिएको छ।

नदीको सतहदेखि नै ठूलो पहिरो खसेर सडकको संरचनामै क्षति पुगेकाले अस्थायी मर्मतबाट मात्रै सडक सञ्चालन गर्न सम्भव नदेखिएको नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ। सडक पुनः सञ्चालनका लागि स्थायी मर्मत तथा पुनर्निर्माण आवश्यक पर्ने योजनाको भनाइ छ।सडक योजनाका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार कृष्णभीर क्षेत्रमा भएको क्षतिको विस्तृत अध्ययन गरी त्यसका आधारमा डिजाइन तयार गर्नुपर्ने अवस्था छ। त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर टेन्डरमार्फत पुनर्निर्माणको काम अघि बढाउनुपर्ने भएकाले तत्कालै सडक सञ्चालनमा ल्याउने अवस्था नरहेको उनले बताए।

“क्षति ठूलो भएकाले अध्ययन, विस्तृत डिजाइन र टेन्डर प्रक्रियासहित पुनर्निर्माण गर्न समय लाग्न सक्छ,” मिश्रले भने।उनका अनुसार हालको क्षतिको अवस्था हेर्दा दशैंअघि कृष्णभीरबाटै नागढुंगा–मुग्लिन सडक सञ्चालनमा आउने सम्भावना निकै कम छ। बाढी र पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रु तथा मालवाहक सवारीसाधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था आएको छ। कृष्णभीरबाटै सडक पुनः सञ्चालन गर्न दीर्घकालीन पुनर्निर्माण आवश्यक देखिएकाले सडक योजना अहिले क्षतिको अध्ययन र आगामी पुनर्निर्माण प्रक्रियातर्फ केन्द्रित हुने जनाएको छ।
















