हेडलाईनसमाचारगण्डकीऋषिङ

ऋषिङ्ग गाउँपालिकाको वार्षिक विकास योजना सार्वजनिक, विपद् कोषमा ५ लाख ८५ हजार हस्तान्तरण

प्रहार समाचार । तनहुँ, १६ भदौ २०८३ मङ्गलवार । तनहुँको ऋषिङ्ग गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को बजेट किताब (वार्षिक विकास योजना) सार्वजनिक तथा विमोचन गरेको छ। गाउँपालिकाको सभाहलमा आज आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्लेले बजेट तथा वार्षिक विकास योजना सार्वजनिक गरेका हुन्।

कार्यक्रममा बोल्दै वाग्लेले स्थानीय तहले उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालन गर्दै जनताको आवश्यकता र प्राथमिकताका आधारमा विकास निर्माणका काम अघि बढाउनुपर्नेमा जोड दिए।

गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकाको समग्र विकास र नागरिकको अपेक्षा सम्बोधन गर्ने गरी योजना तथा कार्यक्रम कार्यान्वयनमा जोड दिँदै बजेटको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे।

गाउँपालिका उपाध्यक्ष गिनुमाया थापा मगरले स्थानीय आवश्यकता र जनताको हितलाई केन्द्रमा राखेर वार्षिक विकास योजना कार्यान्वयन गर्नुपर्ने बताइन्।

प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाईले बजेट तथा कार्यक्रम कार्यान्वयनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारितालाई प्राथमिकता दिइने उल्लेख गरे। कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष तथा अन्य जनप्रतिनिधि, शिक्षक, कर्मचारी र सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले गाउँपालिकाको विकासका लागि विनियोजित बजेट तथा योजनालाई समयमै र प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।

यसैबीच, गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत विभिन्न जिल्लाका नागरिकको राहत तथा पुनःस्थापनाका लागि ऋषिङ्ग गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीबाट संकलित र ५ लाख ८५ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको छ। उक्त रकम जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्लेमार्फत हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ। बजेट सार्वजनिकसँगै विपद् प्रभावित नागरिकका लागि आर्थिक सहयोग हस्तान्तरण गर्दै गाउँपालिकाले विकाससँगै मानवीय उत्तरदायित्वप्रति पनि प्रतिबद्धता जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button