प्रहार समाचार । तनहुँ, १६ भदौ २०८३ मङ्गलबार । तनहुँका होटल तथा रेस्टुरेन्ट व्यवसायीले खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयसँग माग गरेका छन्। जिल्लाका विभिन्न स्थानमा सञ्चालित साना तथा मझौला होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा ग्यासको अभाव देखिएपछि व्यवसाय सञ्चालनमै कठिनाइ भएको भन्दै होटल व्यवसायी संघ तनहुँले प्रमुख जिल्ला अधिकारीसमक्ष ग्यास सहज उपलब्ध गराउन आग्रह गरेको हो।

संघका अनुसार तनहुँ जिल्लाभर छरिएर रहेका होटल तथा रेस्टुरेन्ट व्यवसाय ग्यासको नियमित आपूर्तिमा निर्भर छन्। पछिल्लो समय व्यवसाय प्रयोजनका लागि आवश्यक ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा दैनिक सेवा प्रवाह प्रभावित हुनुका साथै व्यवसायीलाई थप समस्या परेको संघले जनाएको छ। विशेषगरी खाना तथा खाजा तयारीमा प्रत्यक्ष निर्भर होटल व्यवसायमा ग्यास अभाव हुँदा नियमित रूपमा व्यवसाय सञ्चालन गर्न कठिन भएको संघको भनाइ छ।

होटल व्यवसायी संघ तनहुँका अध्यक्ष गिरीबहादुर थापाले जिल्ला प्रशासन कार्यालय तनहुँलाई पत्र पठाउँदै व्यवसायीका लागि आवश्यक ग्यास सहज रूपमा उपलब्ध हुने व्यवस्था मिलाइदिन अपिल गरेका छन्। संघले होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसजस्ता व्यवसायलाई लक्षित गरी ग्यासको आपूर्ति नियमित र सहज बनाउन सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्नेमा जोड दिएको छ।
















