प्रहार समाचार । काठमाडौं, १६ । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। विपद्का कारण प्रभावित परिवारलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम कोषमा प्रदान गरेको हो।

कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेललगायतले अर्थ मन्त्रालय पुगेर सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। कम्पनीका अनुसार कुल सहयोग रकममध्ये सिटिजन लिडर्सको तर्फबाट १८ लाख ६७ हजार रुपैयाँ र कर्मचारीहरूको तर्फबाट २१ लाख ३३ हजार रुपैयाँ योगदान रहेको छ। बाँकी रकम कम्पनीको तर्फबाट सहयोग गरिएको जनाइएको छ।
कम्पनीले विपद्को समयमा आर्थिक सहयोगसँगै प्रभावित नागरिकको पीडा र पुनर्स्थापनाको प्रयासमा साथ दिनु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि गरिएको यो सहयोगले विपद्को समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व र सामूहिक सहयोगको भूमिकालाई समेत उजागर गरेको छ।
















