प्रहार समाचार । तनहुँ, २९ चैत २०८२ आईतबार । व्यास नगरपालिका–४ सिमलटार–बागभञ्ज्याङ क्षेत्रमा जारी “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष महोत्सव” अन्तर्गत आज गायिका सम्झना लामिछानेको प्रस्तुति मुख्य आकर्षण बन्ने भएको छ। आयोजकका अनुसार आज दर्शकको उल्लेख्य भिड लाग्ने अपेक्षा गरिएको छ।

टाइगर ल्याण्ड युवा क्लवको आयोजनामा सञ्चालन भइरहेको महोत्सवमा सम्झना लामिछानेसँगै विष्णु पराजुली, आशा दरै लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ। विविध सांगीतिक कार्यक्रमले महोत्सवको रौनक थप बढाउने विश्वास आयोजकले लिएको छ। क्लबका अध्यक्ष बिपिन घलेले महोत्सवले स्थानीयस्तरमा उत्साह थपेको बताए।

महोत्सव चैत २७ गतेबाट सुरु भई वैशाख ८ गतेसम्म सञ्चालन हुने जनाइएको छ। कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समेत सहभागिता रहने सचिव उमेश पौडेलले जानकारी दिए।

महोत्सव परिसरमा बालउद्यान, रोटेपिङ, डुंगा (नाउ) तथा ड्रागन खेल जस्ता मनोरञ्जनात्मक गतिविधि सञ्चालनमा छन् भने सस्तो बजारसमेत राखिएको छ। आयोजकका अनुसार महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै आन्तरिक पर्यटन र व्यापार व्यवसायलाई टेवा पुर्याउने अपेक्षा गरिएको छ।




























