प्रहार समाचार । तनहुँ, २९ चैत २०८२ आईतबार ।म्याग्दे–दमौली समाजको तेस्रो साधारणसभा तथा नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार म्याग्दे गाउँपालिका–४ स्थित घुम्ती टोल विकास संस्थाको भवनमा सम्पन्न भएको छ। कार्यक्रमसँगै बनभोजको समेत आयोजना गरिएको

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले समाजहरू स्थानीय एकता, सहकार्य र सामाजिक विकासका महत्वपूर्ण आधार भएको बताए। उनले यस्ता संस्थाले आपसी सद्भाव बढाउँदै समुदायको साझा मुद्दामा अग्रसर हुनुपर्ने उल्लेख गरे।
त्यस्तै, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले समाजमार्फत स्थानीय विकासमा नागरिक सहभागिता बलियो बनाउन सकिने बताउँदै सामूहिक पहल र जिम्मेवारीबोधमा जोड दिए। पालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सामाजिक संस्था सक्रिय हुँदा गाउँको समग्र विकासमा टेवा पुग्ने धारणा राखे।
म्याग्दे–दमौली समाजका अध्यक्ष भाग्यशाली ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण समाजका सचिव विकास खनालले गरेका थिए। कार्यक्रममा सहभागीहरूले नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्दै आपसी सम्बन्ध थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।



























