• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । ताप्लेजुङ, २७ चैत २०८२ शुक्रबार । ताप्लेजुङ — ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आइतबार बिदा नदिने निर्णय गरेको छ। नेपाल सरकारले चैत २३ गते सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने व्यवस्था गरे पनि गाउँपालिकाले पुरानै प्रणाली कायम राख्ने निर्णय गरेको हो।

गाउँपालिकाको चैत २५ गते बसेको ६०औँ बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ अनुसार अधिकार प्रयोग गर्दै यस्तो निर्णय गरेको जनाएको छ। अधिकांश कर्मचारी कार्यालय नजिकै बसोबास गर्ने र भौगोलिक विकटताका कारण थप गरिएको कार्यालय समयभित्र सेवाग्राही कार्यालयसम्म पुग्न असहज हुने निष्कर्षसहित पुरानै कार्यतालिका लागू गरिएको हो।

निर्णयअनुसार अब गाउँपालिका मातहतका सबै सरकारी कार्यालय आइतबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछन्। वैशाख १ देखि कात्तिक १५ र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म कार्यालय समय तोकिएको छ भने कात्तिक १६ देखि माघ १५ सम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ। शुक्रबार भने बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।



























