हेडलाईनव्याससमाचारगण्डकीऋषिङ

तनहुँमा कौराहा संरक्षणका लागि राष्ट्रिय सम्मेलन हुने, १५ हजारसम्मको सामूहिक नृत्य तयारी

प्रहार समाचार । तनहुँ, २१ चैत २०८२ शनिबार । ।मगर समुदायको मौलिक कौराहा नृत्य संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यसहित तनहुँमा ‘दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन–२०८३’ आयोजना गरिने भएको छ।

नेपाल मगर सांस्कृतिक संघ, केन्द्रीय समितिको आयोजनामा तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपाल र नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँको सह–आयोजनामा सम्मेलन हुन लागेको हो। कार्यक्रमको व्यवस्थापन नेपाल मगर सांस्कृतिक संघ गण्डकी प्रदेश, नेपाल मगर संघ तनहुँ–काठमाडौँ सम्पर्क समिति र नेपाल मगर सांस्कृतिक संघ जिल्ला कार्यसमिति तनहुँले गर्नेछन्।

शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपाल मगर सांस्कृतिक संघ, केन्द्रीय समितिका सभापति नन्द घर्ती मगरले कौराहा नृत्य मगर समुदायको पहिचान र गौरवसँग जोडिएको महत्वपूर्ण सम्पदा भएको उल्लेख गरे। उनले यसको संरक्षण र पुस्तान्तरणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।


वरिष्ठ उपाध्यक्ष पदम थापा मगरले कौराहा नृत्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गरी सम्मेलन आयोजना गर्न लागिएको बताए। उनले विभिन्न जिल्लाका कलाकारबीच अनुभव आदान–प्रदान आवश्यक रहेकोमा जोड दिए।

कौराहा नृत्य विज्ञ यमबहादुर आलेले मौलिक कौराहा नृत्यको स्वरूप जोगाउन अध्ययन, अनुसन्धान र अभिलेखीकरण आवश्यक रहेको उल्लेख गरे।

नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष एवं मौलिक कौराह सम्मेलनका संरक सिद्धान्त गर्जा मगरले गण्डकी प्रदेश तनहुको रिसिङ गाउँपालिका कौराहा नृत्यको उद्गमस्थल भएको चर्चा गर्दै सबैभन्दा धेरै व्यक्तिहरूको सहभागितामा नृत्य गराई गिनिज बुकमा समेत नाम दर्ता गराउने लक्ष्य रहेको उल्लेख गरे


नेपाल मगर संघ तनहुँका अध्यक्ष हर्क बहादुर थापा मगरले सम्मेलनलाई ऐतिहासिक रूपमा सफल बनाउने तयारी भइरहेको बताए। उनका अनुसार उक्त कौराहा नृत्यमा १० देखि १५ हजार जनाले सामूहिक रूपमा सहभागिता जनाउने अपेक्षा गरिएको छ।
सम्मेलन वैशाख ४ र ५ गते तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा सञ्चालन हुनेछ।

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता बोकेको मुलुक हो। यस विविधताबीच मगर समुदायले भाषा, लिपि, कला, संस्कृति र साहित्यमार्फत आफ्नै पहिचान स्थापित गर्दै आएको छ। तीमध्ये कौराहा नृत्यलाई महत्वपूर्ण मौलिक सांस्कृतिक सम्पदाका रूपमा लिइन्छ। समयसँगै मौलिक संस्कृतिहरू लोप हुने जोखिम बढ्दै गइरहेकाले कौराहा नृत्यको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्न सम्मेलन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।


सम्मेलनका प्रमुख उद्देश्य कौराहा नृत्यको मौलिकता जोगाउने, मगर समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, अध्ययन–अनुसन्धान र अनुभव आदान–प्रदानको अवसर सिर्जना गर्ने तथा नयाँ पुस्तालाई आफ्नै संस्कृतिप्रति सचेत बनाउने रहेका छन्। यसैगरी, विभिन्न जिल्लाबाट सहभागी हुने कौराहा नृत्य समूहहरूबीच आपसी सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने लक्ष्य समेत राखिएको छ।
सम्मेलनमा देशभरका कौराहा नृत्य टोलीहरूको उल्लेखनीय सहभागिता रहनेछ। कार्यक्रममा उद्घाटन सत्र, नृत्य प्रस्तुति, कौराहा सम्बन्धी विज्ञहरूको सहभागितामा घोषणापत्र सार्वजनिक, सम्मान तथा प्रमाणपत्र वितरण र समापन कार्यक्रम लगायतका गतिविधि समावेश गरिनेछन्।

कार्यक्रम सफल बनाउन विभिन्न संघ–संस्था, स्थानीय तह, सहयोगी दाता तथा सरोकारवाला निकायसँग सहकार्य गरिने जनाइएको छ। सम्मेलनको प्रभावकारी प्रचार–प्रसारका लागि सञ्चारमाध्यमलाई सहयोग गर्न आयोजकले आग्रह गरेको छ।
पत्रकार सम्मेलनको सहजिकरण महासचिव रञ्जिता थापा मगरले गरेकी थिइन्।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button