प्रहार समाचार । तनहुँ, १९ चैत २०८२ बिहीबार । कुमारी बैंक लिमिटेडले आफ्नो स्थापना दिवसको २५औँ वार्षिकोत्सवका अवसरमा पोखरामा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
बैंकका कर्मचारी तथा ग्राहकहरूको उत्साहजनक सहभागितामा सम्पन्न उक्त कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन्। कुमारी बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणाका अनुसार स्थापना दिवसको अवसरमा देशभरका सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो।

पोखरामा सम्पन्न कार्यक्रम कुमारी बैंक गण्डकी प्रदेश कार्यालयको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो। यस्ता कार्यक्रमले आपतकालीन अवस्थामा रगतको अभाव पूर्ति गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २ सय ८६ शाखा सञ्जाल, ३ सय१५ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ। बैंकले आगामी दिनमा समेत सेवालाई अझ सरल, सुलभ र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।



























