हेडलाईनसमाचारगण्डकीम्याग्दे

बाढीले बाटो छेक्दा चार जना अलपत्र, तनहुँ प्रहरी टोलीले गर्‍यो उद्धार

प्रहार समाचार । तनहुँ, ३१ साउन २०८३ आइतबार । तनहुँको म्याग्दे गाउँपालिकामा अविरल वर्षापछि आएको बाढीले भित्री सडक अवरुद्ध हुँदा चार जना अलपत्र परेका छन्। म्याग्दे गाउँपालिका–३ घयरेस्थित खोलामा शनिबार एक्कासि बाढी आएपछि खेत गोड्न गएका चार जना खोला तर्न नसकेर अलपत्र परेका थिए। उनीहरूलाई प्रहरी टोलीले सुरक्षित रूपमा उद्धार गरी घरतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

बाढीका कारण म्याग्दे गाउँपालिका–३ र ४ को सिमाना जोड्ने पक्की पुलमाथिबाट पानी बगेपछि माझिलाङतर्फ जाने भित्री सडकमा सवारी आवतजावतसमेत ठप्प भएको थियो। अविरल वर्षासँगै खोलामा पानीको बहाव बढेपछि स्थानीयस्तरमा आवागमन जोखिमपूर्ण बनेको प्रहरीले जनाएको छ।

यसैबीच म्याग्दे–३ निवासी प्रेमनाथ वाग्लेको घरको दुवैतर्फबाट बाढी पसे पनि घरमा भने क्षति नभएको प्रहरीले जनाएको छ। वर्षाका कारण बाढीको जोखिम बढेपछि सम्भावित दुर्घटना रोक्न तथा अलपत्र परेकाको उद्धारका लागि प्रहरी चौकी थर्पुबाट प्रहरी नायब निरीक्षक टीकाराम दाहालको कमाण्डमा सात जनाको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरी टोलीले खोलामा फसेका चारै जनालाई उद्धार गरी सुरक्षित रूपमा घरतर्फ पठाएपछि तत्कालको जोखिम टरेको छ। लगातार वर्षा भइरहेकाले खोलानाला तथा बाढी प्रभावित सडकमा आवतजावत गर्दा सावधानी अपनाउन र जोखिमयुक्त स्थानमा नजान प्रहरीले आग्रह गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button