हेडलाईनव्याससमाचारगण्डकीविजनेस

कर होइन, जलस्रोत र जनशक्तिबाट समृद्धिको सूत्र खोज्न सांसद न्यौपानेको जोड

प्रहार समाचार । तनहुँ, ३१ साउन २०८३ आइतबार । जनतालाई करको भार थपेर राज्यको आम्दानी बढाउने नीतिमाथि प्रश्न उठिरहेका बेला तनहुँ क्षेत्र नम्बर २ का सांसद इञ्जिनियर श्रीराम न्यौपानेले नेपालको आर्थिक समृद्धिका लागि मौलिक र उत्पादनमुखी बाटो रोज्नुपर्ने बताएका छन्। अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत नेपालको अर्थनीतिको सूत्र विदेशी नक्कलमा नभई आफ्नै माटो, संविधान र जनजीवन सुहाउँदो हुनुपर्ने धारणा सार्वजनिक गरेका हुन्।

न्यौपानेले “नक्कलको होइन, आफ्नै माटो, संविधान र जनजीवन सुहाउँदो अर्थनीतिको सूत्र हुनुपर्छ; कर उठाएर होइन, जलस्रोत र जनशक्तिको सदुपयोगबाट समृद्धिको नेपाली सूत्र खोजिनुपर्छ” भन्दै करमुखी अर्थनीतिभन्दा उत्पादन र स्रोतको अधिकतम उपयोगमा जोड दिएका छन्। उनको यो अभिव्यक्ति पछिल्लो समय सरकारले विभिन्न क्षेत्रमा कर लगाउने तथा करको दायरा विस्तार गर्ने विषयमा भइरहेको बहसकै बीच आएको हो।नेपाल जलस्रोतको अपार सम्भावना बोकेको मुलुक भए पनि त्यसको पर्याप्त सदुपयोग हुन नसकेकोतर्फ संकेत गर्दै सांसद न्यौपानेले जलशक्तिको सही उपयोगले मुलुकको अर्थतन्त्रसँगै रोजगारी र जनशक्ति निर्माणमा समेत सकारात्मक प्रभाव पार्ने सन्देश दिएका छन्।

जलविद्युत् उत्पादन, औद्योगिकीकरण, रोजगारी सिर्जना र उत्पादन वृद्धि एकअर्कासँग जोडेर अघि बढाउन सके नेपाली अर्थतन्त्रलाई करको भारमा निर्भर बनाइरहनु नपर्ने उनको भनाइको आशय छ।अर्थमन्त्री वाग्लेले अघि सारेका शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी करको विषयमा समेत पछिल्लो समय व्यापक आलोचना भएको थियो। उक्त करसम्बन्धी निर्णय प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले हटाएको प्रसङ्गसँग जोडिँदा सांसद न्यौपानेको पछिल्लो अभिव्यक्तिले “कर बढाएर राज्य चलाउने कि उत्पादन बढाएर राज्य बलियो बनाउने?” भन्ने बहसलाई थप सतहमा ल्याएको छ।

न्यौपानेको अभिव्यक्तिले सरकारको आर्थिक नीतिमाथि केवल आलोचना मात्र गरेको नभई नेपालको आफ्नै स्रोत, सम्भावना र जनशक्तिमा आधारित वैकल्पिक आर्थिक बाटो खोज्नुपर्ने राजनीतिक दबाबसमेत सिर्जना गरेको देखिन्छ। प्राकृतिक स्रोतको समुचित उपयोग, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर अर्थनीति बनाउनुपर्ने उनको धारणा अहिलेको करसम्बन्धी बहसलाई राजस्व संकलनभन्दा आर्थिक आत्मनिर्भरतातर्फ मोड्नुपर्ने प्रस्तावका रूपमा आएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button