लुम्बिनीव्यासहेडलाईनकोशीमदेशसमाचारकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीमनोरञ्जन

नागपञ्चमी आज : नागपूजासँगै प्रकृति र जीव संरक्षणको सन्देश

प्रहार समाचार । तनहुँ , १ भदौ २०८३ सोमबार । क नेपाली धार्मिक परम्परामा विशेष महत्व बोकेको नागपञ्चमी पर्व आज देशभर श्रद्धापूर्वक मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार यस आज नागपञ्चमी परेको हो। नागपञ्चमी प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने भए पनि यस वर्षको पात्रोअनुसार भदौ १ गते परेको हो। तस्बिरहरु : प्रहार अनलाइन मिडिया

यस दिन नागदेवताको पूजा, आराधना गरी घरको मूलढोकामा नागको चित्र टाँस्ने परम्परा नेपाली समाजमा प्रचलित छ।नागपञ्चमीका दिन बिहानै स्नान गरी नागको चित्र वा प्रतिमालाई पूजा गर्ने तथा दूध, दही, अक्षता, फूल, दूबो, लावा, खीरलगायतका सामग्री चढाउने चलन छ। पूजा सम्पन्न गरेपछि नागको चित्रलाई गाईको गोबर वा पूजा सामग्रीको सहायताले घरको मूलढोकामाथि टाँस्ने परम्परा छ।

काठमाडौँको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत विभिन्न नागस्थान, नागदह तथा कुण्डमा पनि विशेष पूजाआजा हुने गरेको पाइन्छ।धार्मिक मान्यताअनुसार नागलाई जल, वर्षा, उर्वरता र भूमिसँग जोडेर हेर्ने गरिन्छ। नागको पूजा गरेमा सर्प, बिच्छीलगायत विषालु जीवको भयबाट बच्नुका साथै अग्नि, मेघ तथा चट्याङको जोखिमबाट घरपरिवार सुरक्षित रहने विश्वास छ। वैदिक परम्परामा नागपूजाको प्रचलन पुरानो मानिन्छ भने वराहपुराणमा समेत नागराजसँग सम्बन्धित प्रसङ्ग रहेकाले नागपञ्चमीको धार्मिक महत्व रहेको धर्मशास्त्रीय मान्यता छ।नागपञ्चमी केवल धार्मिक अनुष्ठानमा सीमित नभई प्रकृति र जीवजन्तुप्रतिको सम्मान व्यक्त गर्ने सांस्कृतिक पर्वका रूपमा पनि लिन सकिन्छ।

नाग तथा सर्पलाई पारिस्थितिक प्रणालीको महत्वपूर्ण जीवका रूपमा सम्मान गर्ने सन्देश यस पर्वले दिन्छ। त्यसैले धार्मिक आस्थाअनुसार पूजा गर्दा जीवित सर्पलाई समात्ने, दूध खुवाउने वा जोखिमपूर्ण रूपमा प्रदर्शन गर्नेभन्दा नागको प्रतिमा वा चित्रमा पूजा गरी सर्प तथा अन्य वन्यजन्तुको संरक्षण गर्नु सुरक्षित र जिम्मेवार अभ्यास हुने देखिन्छ। यसरी नागपञ्चमीले नेपाली समाजमा धार्मिक आस्था, प्रकृतिप्रतिको सम्मान र जीव संरक्षणको चेतनालाई जोड्ने सांस्कृतिक सेतुको भूमिका निर्वाह गर्दै आएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button